अर्जुन भुसाल
सन्धिखर्क, अर्घाखाँची भदौ १ । मुलुकी देवानी तथा फौजदारी ( संहिता ) ऐनले मुलुकमा विधिको शासन स्थापित गर्ने एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् । उनीहरुले छरपस्ट रहेका ऐन नियमहरुलाई परिमार्जन गरि व्यवस्थित खालको नयाँ ऐन निर्माण भएको बताए ।
ऐनका विषयमा जिल्ला सरकारी वकिल कार्यालयले गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यो ऐन सरकारले नभइ अघिल्लो संसदले तयार पारेको हुँदा सरकारको बिरोध गर्नुको औचित्य नरहने बताए । जिल्ला न्यायाधीश रामचन्द्र पौडेलले धेरै लामो समय सम्मको छलफलबाट ऐन लागू हुन लागेको भन्दै यसलाई समान्य रुपमा लिन नहुने बताए ।
उनले गल्ती गर्ने जो कोहिलाई पनि आवश्यक कारवाही भएमा कानुनको पालन भएको मानिने बताए । ‘यो ऐनले व्यवसायीक आचरण उल्लघंन गर्नेलाई कारवाही गर्ने व्यवस्था गरेको छ’ उनले भने, ‘अनुशासनमा रहेर काम गरे कोहि पनि डराउँदै पर्दैन ।’ पौडेलले न्यायाधीशले पनि कमजोरी गरे उम्कन नपाउने भन्दै पेशागत मर्यादालाई कायम राख्दै काम गर्न सबैलाई आग्रह समेत गरे । प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले समयको माग अनुसार ल्याइएको ऐनको सबैले पालना गर्नु पर्ने बताए । ‘सबैले कानुनको पालना गरे देश समृद्ध र समुन्नत बन्न धरै समय लाग्दैन’ उनले भने, ‘ नयाँ ऐनले कसैलाई पनि अंकुश लगाएको छैन ।’ उनले बाहिर आएका हल्लाका पछि नलागी ऐनको अध्ययन गर्न आग्रह गरे ।
प्रहरी नायव उपरिक्षक नवराज मल्लले १ सय ६५ वर्ष देखिको कानुनको विरासतलाई जोगाइराख्न अहिले आएको ऐनलाई स्वीकार्नु पर्ने बताए । ‘यो ऐन धेरै आनुनिक छ’ उनले भने, ‘न्याय प्रणालीलाई समय सापेक्ष बनाउँदै लैजानुपर्छ ।’ जिल्ला अदालतका वैतनिक वकिल केवि भुसालले अहिलेको परिस्थितिमा अहिले बनेको नयाँ कानुन उपयुक्त भएको बताए । ‘अभ्यास गर्दै जाँदा केहि विषयलाई संंशोधन गर्न सकिन्छ’ उनले भने, ‘अहिल्यै बिरोध गर्न खोज्नु सरासर वेठिक हो ।’ उनले मुलकमा अपराध र बेथितिका घटनाहरु बढिरहेका बेला ऐन लागू हुनु निकै उपयुक्त भएको बताए ।
अभिवक्ता जगन्नाथ भुसालले अघिल्लो संसदले तयार पारी गत वर्ष नै प्रमाणिकरण भएको ऐनलाई अहिलेको सरकारले बनायो भनेर प्रचार गर्नु गलत भएको बताए । ‘ऐन, कानुन सरकारले नभइ संसदले बनाउने हो’ उनले भने, ‘अहिलेको कानुन अघिल्लो संसदले तयार पारेको हो, यसमा तत्कालिन समयमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलको सहमति छ ।’ भुसालले स्वास्थ्य र सञ्चार क्षेत्रमा लगाइएको अंकुशले समस्या सिर्जन गर्न सक्ने भन्दै बेलैमा सोँच बिचार पु-याउनु पर्ने बताए । पत्रकार श्याम घिमिरेले मुलुकी एनले प्रेस स्वतन्त्रालाई कुण्ठित गर्न खोजेको बताए । सरकारी विकिल कार्यालयका प्रमुख हरी प्रसाद घिमिरेले संसदले न्यायलय माथि ठूलो जिम्मेवारी प्रदान गरेकाले यस्लाई सबैले उपलव्धीका रुपमा लिनु पर्ने बताए ।
कार्यक्रम सरकारी वकिल कार्यालयका कर्मचारी सुनिता खनालको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख, संघ संस्थाका प्रमुख प्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो ।