पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको अन्त्येष्टि, भारत शोकमा

news
भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको शुक्रबार पूर्णराजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
नयाँदिल्लीस्थित यमुना नदीको किनारको स्मृतिस्थलमा बाजपेयीको अन्त्येष्टि गरिएको हो ।
त्यसअघि, स्मृतिस्थलमा परिवारजन र उच्चपदस्थ व्यक्तिहरुले स्व. बाजपेयीप्रति अन्तिम श्रद्धाञ्जलि दिएका थिए ।
नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत विभिन्न देशबाट अन्त्येष्टिमा सहभागी हुन गएका विदेशी पाहुनाहरुले पनि सोही स्थलमा श्रद्धाञ्जलि दिएका थिए ।
भारतीय सेनाका स्थल, जल र हवाई सेनाका टुकडीहरुले स्वर्गीय बाजपेयीप्रति सम्मानगारद अर्पण गरेका थिए ।
त्यसअघि, शुक्रबार बिहान ११ बजेदेखि बाजपेयीको पार्थिव शरीर दीनदयाल उपाध्याय मार्गस्थित भारतीय जनता पार्टीको मुख्यालयमा राखिएको थियो ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, गृहमन्त्री राजनाथ सिंहलगायत भाजपका नेता, कार्यकर्ता तथा सर्वसाधारणले बाजपेयीलाई श्रद्धाञ्जलि दिएका थिए ।
भाजपा मुख्यालयबाट शुक्रबार दिउँसो शवयात्रासहित पार्थिव शरीर यमुना नदी किनारको स्मृतिस्थलमा पुर्‍याइएको थियो ।
लामो समयदेखि अस्वस्थ रहेका बाजपेयीको बिहीबार उपचारकाक्रममा नयाँदिल्लीस्थित एम्स अस्पतालमा ९३ वर्षको निधन भएको थियो ।
बाजपेयी सन् १९९६ मा १३ दिन, सन् १९९८ देखि १९९९ सम्म र सन् १९९९ देखि सन् २००४ मा गरी तीनपटक भारतको प्रधानमन्त्री बनेका थिए ।
भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ले सम्मानित बाजपेयीको निधनमा सात दिनसम्म औपचारिक कार्यक्रम नगरी शोक मनाइने र राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय भारत सरकारले गरेको छ । (एजेन्सी)