अर्घाखाँचीको तरकारी कपिलवस्तुको चन्द्रौटा र गोरुसिंगेमा लाग्ने हाटबजारमा

वीरेन्द्र केसी कान्तिपुर
सन्धिखर्क, अर्घाखाँची । वर्षायाममा तराईका खेतीयोग्य जमिन जलमग्न हुने भएकाले त्यहाँका बासिन्दा पहाडी तरकारीमा निर्भर हुन्छन् । व्यापारीले यहीं आएर खरिद गरेर लैजान्छन् । कपिलवस्तुको चन्द्रौटा र गोरुसिंगेमा लाग्ने हाटबजारमा अर्घाखाँचीको तरकारी ग्राहकले खोज्ने व्यापारी बताउँछन् ।
‘गाडीमा तरकारी ढुवानी गर्छौं,’ व्यापारी अनिष तिवारीले भने, ‘कृष्णनगर नाका हुँदै भारतसम्म पुर्‍यान्छ ।’ उपभोक्ताले पहाडी तरकारी खानलाई मीठो, स्वादिलो र स्वस्थकर मान्दै किन्ने गरेको उनले बताए ।
तिवारीका अनुसार सीमा नाका भारतमा व्यवसाय र रोजगारी गर्नेले पहाडी तरकारी पठाइदिन फोनमै खबर गर्छन् । र, त्यसबापतको पैसा बैंक खातामा जम्मा गरिदिन्छन् । पहाडी तरकारी तराई र सीमापारि बजारमा अत्यधिक माग रहेको र पुर्‍याउनै नसकिएको अर्का व्यापारी केपी गुप्ताले बताए । वर्षामा पहाडको तरकारी खोसाखोस हुने र खान पनि मीठो हुने उनले बताए ।
‘वर्षामा फलफूलबाहेक सबै तरकारी यहींकै बिक्री गर्छौं,’ सन्धिखर्कका व्यापारी तिलक केसीले भने, ‘तराईका व्यापारीले फोन गरेर पहाडको तरकारी गाडीमा पठाइदिन भन्छन् । कृषकले गाउँबाट बोरामा ल्याएको तरकारी सीधै उता पठाइदिन्छु ।’ हिउँदमा यहाँ उत्पादन भएको भन्दा तराईबाटै सस्तोमा तरकारी उत्रिन्छ । तर, वर्षामा पहाडको तरकारीको माग तराईमा पनि धेरै रहेको केसीले बताए ।
तराईबाट व्यापारी अर्घाखाँची आउन थालेपछि यहाँ वर्षे तरकारी उत्पादन गर्ने कृषक पनि बढेका छन् । किमडाँडाका पुष्करनाथ बन्जाडेको २५ रोपनी बारीमा अन्न खेती छैन । सिमी, बोडी, लौका, करेला, घिरौंला, तोराय, गोभी, भिन्डी, चिचिन्डा, फर्सीलगायत काँक्रा बारीमा लटरम्मै फलेका छन् । हिउँदमा भाउ पर्दैन । तराईको तरकारी सन्धिखर्क बजारमा सस्तोमा आइपुग्छ । तर, वर्षे तरकारी महँगोमा तराई जान्छ । ‘हिउँदमा भन्दा तेब्बर भाउमा बिक्री हुन्छ,’ उनले भने, ‘उत्पादन गर्न त्यति सजिलो छैन । वर्षामा पानी धेरै भएर झाल नै पग्लिने, फल कम लाग्ने र रोगकीराले नाश पारिदिने खतरा बढी हुन्छ ।’
मकैभन्दा तरकारी खेतीले आम्दानी चौगुना हुने किसान बताउँछन् । गाई र भैंसी पनि पालेका छन् । ‘गहुँत संकलन गरेर ड्रममा सात दिनसम्म राख्ने र तरकारीका बोटमा राखेपछि राम्रो फल्छ,’ बन्जाडेले भने, ‘विषादी राख्नै पर्दैन ।’ चिसो मौसममा फलेको पहाडको तरकारी स्वालिदो र मीठो मान्दै कपिलवस्तु र रूपन्देहीका व्यापारी किन्न आउने उनले बताए ।
‘यहाँको तरकारी बोरामा प्याक गरेर बस र ट्रकबाटै तराई झारिन्छ,’ उनले भने, ‘तरकारीबाटै मैले वर्षमा १३ लाख रुपैयाँ बैंक बचत गरेको छु ।’ यहाँका किसानले वर्षामा घर र गोठको छानोको पानी एक थोपा पनि नोक्सान हुन दिँदैनन् । हिउँदमा सिँचाइ गर्न प्लास्टिक पोखरीमा पानी संकलन गर्छन् । चारवटा प्लास्टिक पोखरीमा ४ लाख लिटर पानी अट्छ ।
घोचेखोलाका गणेश बन्जाडेले पनि वर्षे तरकारीबाट राम्रो आम्दानी गरेको बताए । बजार नजिकै भएकाले ग्राहक घरमै पुगेर किन्छन् । ‘वर्षामा त जति उत्पादन गरे पनि पुर्‍याउन सकिँदैन,’ उनले भने, ‘दैनिक फोन गरेरै म आउँदैछु, यति मात्रामा यस्तो तरकारी चाहियो भन्छन् ।’
किमडाँडा, धारापानी, अर्घा, खाँचीकोट नरपानीलगायत सदरमुकाम नजिकका गाउँमा उत्पादित वर्षे तरकारी तराई झारिन्छ । खिदिम, मैदान, पटैटी र पोखराथोकमा उत्पादन भएको तरकारी गाडीबाट झन्डै पाँच घण्टामा बुटवल पुग्छ । पोखराथोकका कृषक चन्द्रकान्त पौडेलले बुटवलबाट व्यापारीले फोनमा तरकारी पडाइदिन भनेर दैनिक फोन गर्ने बताए । ‘पोखराथोक–तानसेन वर्षामा पनि मिनी बस चल्छन्,’ उनले भने, ‘बुटवल र भैरहवाका व्यापारीलाई गाडीबाट तरकारी पठाउँछौं ।’
१२ वर्ष भारतमा नोकरी गर्दा टीकाराम विकलाई परिवारलाई खर्च पुर्‍याउन कठिन थियो । तर, तीन वर्षदेखि अन्नखेती छाडेर पाखोबारीमा तरकारी लगाएका उनले वर्षमा तीन लाख रुपैयाँ आम्दानी गर्छन् । ‘१२ रोपनी बारीमा गोलभेडा र तरकारी खेती गरेको छु,’ उनले भने, ‘बुटवल र भैरहवाका व्यापारीको माग धान्नै सकस छ ।’
चार वर्षसम्म दुबईमा रोजगारी गरेर फर्किएका हरि पाण्डे तरकारीबाट राम्रो आम्दानी हुन थालेपछि दंग छन् । वर्षे तरकारीबाट तेब्बर कमाइ भएपछि उनले भिसा रद्द गरेर ६ रोपनी बारीमा तरकारी खेती गरेका छन् । ‘तरकारी खेतीले राम्रो आम्दानी दिएको छ,’ उनले भने, ‘यहाँको शीतलतामा तरकारी खेती गर्नुको बेग्लै मजा छ ।’