सन्धिखर्क । फाइल तस्बिर
प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची ०८ भदौ २०७५ । अर्घाखाँचीको सन्धिखर्क-९, अर्घा पाथ्राबांगका हरिबहादुर गन्धर्बसँग आठ आना जमिन छ । त्यो जमिनमा फलेको मकै, कोदोले तीन महिना पनि खान पुग्दैन । अन्न उब्जाउने बारी नभएपछि उनले सारंगी बजाएर गुजारा चलाउँछन् । परिवार घरमै छाडेर सारंगी बजाउँदै टाढा पुग्ने उनी केही दिन अघिमात्रै गरिब परिचय पत्र लिन वडा कार्यालय पुगे । तर गरिब परिचय पत्र पाउने सूचिमा उनको नामै थिएन ।
गरिबको परिचयपत्र लिन लाइनमा बसेका धेरैलाई उनले नियाले अधिकांश उनका साहु थिए । ‘हामी गरिव एउटा परिचयपत्र लिनुपर्दा पनि ठगिने रहेछौं । भाग्यले ठगेपछि के लाग्छ र ? ’, उनले गुनासो गरे । हरिबहादुरजस्तै उनका गाउँका विपन्न समुदायको नाम सुचिमै छैन । विपन्न परिवारको बसोबास रहेको सन्धीखर्क वार्ड ९ का ८१ परिवार गरिब परिचय पत्र पाउनबाट बञ्चित भएका छन् । सरकारले विपन्नलाई राहतका लागि परिचय पत्र व्यवस्था गरे पनि वास्तविक गरिब परिचयपत्रबाट बन्चित भएका छन् ।
गरिब भएकै कारण सो गाउँका धेरै परिवारलाई जनता आवास अन्तर्गत घर निर्माण गरिएको छ । तर परिचयपत्र दिने क्रममा उनीहरुलाई समावेश गरिएको छैन । अर्घाखाचीमा सरकारी जागिरे, स्वदेश तथा विदेशका पेन्सनवाला, ब्यापारी तथा पुजीपतिले नै गरिबको परिचय पत्र पाएका छन ।
खास गरिबको नाम छुटाएर धनी बर्गको नाम समावेस गरेकाले यो निर्णय तत्काल सच्चाउनु पर्ने गन्धर्बले माग गरेका छन् । ‘जिल्लाका सबैलाई थाहा छ हामी गरिब परिवारका हौं । सरकारले घर बनाइदिएर बसेका छौं । तर हाम्रो नाम गरिब परिवगारमै छैन’, उनले भने ।
नौ नम्बर वडाका ८१ घरले संयुक्त रुपमा हस्ताक्षर गरी नाम छुटेको ध्यानाकर्षण पत्र दर्ता गराएका छन् । जिल्लामा पाँच हजार पाँच सय ४३ अति गरिब, तीन हजार पाँच सय ५२ मध्यम गरिब र दुई हजार पाँच सय ४३ सामान्य गरिब गरि ११ हजार ६ सय ६८ जना गरिव घरपरिवार रहेको जिल्ला समन्वय समितिका शाखा अधिकृत भोजराज ताम्राकारले बताए ।