अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची भदौ ११, २०७५ । अर्घाखाँची जिल्लाका नेवार समुदायले सोमबार गाईजात्रा पर्व मनाइरहेका छन् ।
अर्घाखाँचीका नेवार समुदायले भने यो जात्रालाई विशेष किसिमले मनाउँछन् । गाईजात्रा पर्व डिभर्ना, नुवाकोट, सन्धिखर्क लगायत जिल्लाभर मनाइएको छ ।
हप्तादिन चल्ने यस पर्वको छुट्टै रौनक र आकर्षण छ । जहाँ एक वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाको साँचा अर्थात् डोकोलाई गाईकारुपमा सिंगारेर नगर परिक्रमा गरिन्छ । उमेर पुगेका व्यक्तिहरुको ताहामचाः अर्थात् चारओटा बाँस प्रयोग गरी गाईको प्रतीक बनाइ नगर परिक्रमा गरिन्छ ।
गाईजात्रा पर्वमा हनुमान नाच, बाँदर नाच, लाखे नाच, भैरव नाच, ख्या त्याखलगायत देवीदेवताका नाच यहाँको अर्को विशेषता हो ।
मृतकको सुकीर्ति झल्काउने करुण रसयुक्त गीतिलीला रामायणसमेत प्रदर्शन गर्ने चलन छ ।
गाई वा ताहामचाः बनाइ नगर परिक्रममा गराउनेलाई श्रद्धालुहरुले फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्दछन् ।
गाईजात्राका अवसरमा तलेजु स्थानबाट कुखुरा नबास्दै पहिलो तलेजुको ताहामचाः बनाइ नगर परिक्रमा गराइन्छ ।
त्यसपछि मृतकको सम्झनामा उनीहरुको प्रतीक ताहामचाः बनाइ नगर परिक्रमा गरिन्छ ।
वर्र्षभरि दिवंगत भएकाहरुको सम्झनामा परिवारजनले बालकलाई गाईको प्रतीकको रुप दिएर सहर परिक्रमा गराउँदा दिवंगत व्यक्तिले बैतरणी सजिलै तर्नसक्ने र परलोकमा मोक्ष मिल्ने धार्मिक विश्वास छ ।