अफगानिस्तानमा प्रहरीचौकीमा आक्रमण, १३ प्रहरी र १० तालिबान लडाकू मारिए

news
अफगानितास्तानको उत्तरी कुन्दुज प्रान्तमा सोमबार बिहान एक प्रहरीचौकीमा यहाँका सशस्त्र तालिबान लडाकूहरुले आक्रमण गरेका छन् ।
यस आक्रमणमा परी कम्तीमा पनि १३ जना प्रहरीको ज्यान गएको छ । अधिकारीहरुले उक्त चौकीमा रहेका प्रहरीहरुमध्ये १३ जनाको ज्यान गएको पुष्टि गरेका छन् ।
त्यसैगरी, सो आक्रमणमा परी आक्रमणकारी तालिबानका १० जना लडाकू पनि मारिएका छन् । कुन्दुजका प्रहरी प्रमुखले सो जानकारी दिएका छन् ।
कुन्दुजको दासित इ आर्ची जिल्लामा रहेका सरकारी कार्यालयहरुनजिकै रहेको सो प्रहरीचौकीमा सोमबार बिहानीपख तालिबान लडाकूहरुले शक्तिशाली बन्दुक र रकेट लन्चरजस्ता अत्याधुनिक हतियारहरुले आक्रमण गरेका प्रहरीले जनाएका छन् ।
सो जिल्लामा रहेका सरकारी कार्यालयलाई यसअघि पनि तालिबान लडाकूहरुले लक्षित गर्ने गरेका थिए । गत हप्तामात्र पनि सो जिल्लामा उनीहरुले हमला गरेका थिए ।
त्यसैगरी, अफगानिस्तानको अर्काे प्रान्त बाघलानमा पनि गत शुक्रबार भएको यस्तै हमलामा परी अफगानिस्तानका २० जना सैनिकको ज्यान गएको थियो ।
कुन्दुज र बाघलान अफगानिस्तानको पूर्वी क्षेत्रमा पर्दछन् । सो क्षेत्रमा तालिबान लडाकूहरुको बढी नै प्रभाव रही आएको बताइएको छ । रासस/एएफपी