अर्घाखाँचीमा चितुवा आतंक: किमडाँडामा बालिकालाई चितुवाले खाएपछि स्थानियबासी आक्रोशित, चितुवा मार्न सेना, प्रहरी परिचालन गरिने

अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–८ नेपालीचौर किमडाँडामा चितुवाले  फेरि एक बालिकाको ज्यान लिएपछि स्थानियबासीहरु आक्रोसित भएका छन् ।
सन्धिखर्क १० धरमपानी निवासी रिखिराम राना र पुष्पा रानाकी ५ वर्षीया छोरी सदिक्षा रानाको सोमबार दिउसो ३:३० बजे ज्यान लिएको थियो । घटना लगतै सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी अर्घाखाँची खिमराज भुसाल, प्रहरी नायव उपरीक्षक नवराज मल्ल, जिल्ला वन कार्यालय प्रमुख दिपक ज्ञवालीसहितको टोली पीडितको परिवारलाई भेट्न् घटनास्थल किमडाँडामा पुगेको थियो ।
उनिहरुले किमडाँडामा बालिकाकी आमालाई भेटेर शान्तवना दिनुका साथै स्थानियबासीलाई चितुवा मार्ने पुन: प्रतिवद्दता जनाएका छन् ।
साथै स्रोतले अर्घाखाँचीडट्कमलाई जनाए अनुसार मंगलवार सुरक्षा बैठक बसेर गत वर्ष जस्तै चितुवा मार्न सेना, प्रहरी परिचालन गरिने तयारी गरिएको छ । सेना, प्रहरी परिचालन कुन -कुन ठाउँमा गर्ने भन्ने केही खुलाइएको छैन् । सन्धिखर्क, किमडाँडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोटलगायतका ठाउँमा चितुवाले आतंक मच्चाएको छ । दैनिक जस्तो घर पालुवा जनावर माथि आक्रमण गरेको देखिन्छ । किमडाँडामा पनि २,३ दिन अगाडि कुकुर, कुखुरा लेगेको थियो ।
उता सोमबारको घटना अनुसार तिज मनाउन आफ्नो आमासँग मामाघर हिँडेकी रानालाई बाटोमा पर्ने आफन्त खुमादेवी रानाको घर पुगेर नजिकैको पसलबाट चाउचाउ लिएर घर फर्कने क्रममा झाडीमा लुकेर बसेको चितुवाले  आक्रमण गरि जंगलतर्फ लगेको थियो ।
बालिका चाउचाउ लिएर अबेरसम्म घर नफर्किएपछि बाघले लगेको जानकारी पाउना साथ स्थानीयबासीले जिल्ला प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र स्थानीयले खोज्ने क्रममा घर नजिकै रहेको जङगलमा बालिकाको टाउको, हात र खुट्टा बाहेक शरिरको अरू सबै भाग चितुवाले  खाईसकेको अवस्थामा फेला पारेका थिए ।
घटनास्थलको प्रकृति मुजुल्कासहित बालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको छ । हामी बसेर चाउचाउ खाँदै थियौ बिचमा रहेकी कान्छी बहिनीलाई चितुवाले  लगेर गयो भन्दै रुँदै आमा र सानी हजुर आमालाई मृतकको दिदीले बताएपछि स्थानीयबासी हारगुहार गर्दै जंगलतर्फ गएका थिए। खोज्दै जादा चितुवाले  खाएर क्षतविक्षत अवस्थामा बालिकाको शव भेटिएको हो।
२ बर्षदेखि अर्घाखाँची जिल्लाका विभिन्न स्थानमा डेढ दर्जनभन्दा बढि बालबालिकालाई नरभक्षी चितुवाले आफ्नो सिकार बनाइसकेको छ । जसका कारण १२ जनाको ज्यान गएको छ। ६ जना घाइते उपचारपछि घर फर्किएका छन्।
यसअघि जिल्लाको विभिन्न स्थानमा नरभक्षी बाघले दर्जनभन्दा बढी बालबालिकालाई खाएपछिी बाघ मार्ने निर्णय गरि सम्भावित क्षेत्रमा मान्छे खाने चितुवाको खोजी गर्दा अहिलेसम्म फेला पार्न सकिएको छैन ।
सम्भावित क्षेत्रमा प्रहरी सेना परिचालन गरि थापिएको धरापमा अन्य चितुवा परे तर नरभक्षी चितुवा अहिलेसम्म मार्न सकिएको छैन । चितुवाआतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाँडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोटलगायतका स्थानीय त्रसित छन्।