सन्धिखर्कमा बाघ मार्न सेना, प्रहरी परिचालन, किमडाँडामा बाघखोर (तस्बिर सहित)

प्रेम खड्का 
किमडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–८ नेपालीचौर किमडाँडामा बाघले फेरि एक बालिकाको ज्यान लिएपछि सेना, प्रहरी परिचालन भएका छन् ।   
बाघवाट सुरक्षाको प्रत्याभुति दिलाउन असफल भएको आरोप खेपिरहेको स्थानीय प्रशासनले बाघ मार्न नेपाली सेनाका ४०, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरीको १५ जनासहित  ८० जनाको बिशेष टोली मंगलवारदेखि  परिचालन गरेको हो । 
सुरक्षाकर्मी परिचालन भएको पहिलो दिन किमडाँडाका विभिन्न ठाउँमा बाघखोर थापिएको छ । 
सन्धिखर्क १० धरमपानी निवासी रिखिराम राना र पुष्पा रानाकी ५ वर्षीया छोरी सदिक्षा रानाको सोमबार दिउसो ३:३० बजे ज्यान लिएको थियो । घटना लगतै सन्धिखर्क नगरपालिकाका मेयर कमल प्रसाद भुसाल, प्रमुख जिल्ला अधिकारी अर्घाखाँची खिमराज भुसाल, प्रहरी नायव उपरीक्षक नवराज मल्ल, जिल्ला वन कार्यालय प्रमुख दिपक ज्ञवालीसहितको टोली पीडितको परिवारलाई भेट्न् घटनास्थल किमडाँडामा पुगेको थियो । साथै स्थानीयहरु परिचालन भएका छन् । 
उनिहरुले किमडाँडामा बालिकाकी आमालाई भेटेर शान्तवना दिनुका साथै स्थानियबासीलाई चितुवा मार्ने पुन: प्रतिवद्दता जनाएका थिए । उता बाघ  नियन्त्रण गर्न हिजो राती सोही बालिका खाएको ठाउँमा राखिएको बाख्रालाई पनि राती बाघले खाएको छ । सो ठाउँमा पुन: बाख्राको बाँकी भागमा बिष राखिएको छ । 
 सन्धिखर्क, किमडाँडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोटलगायतका ठाउँमा चितुवाले आतंक मच्चाएको छ । दैनिक जस्तो घर पालुवा जनावर माथि आक्रमण गरेको देखिन्छ । किमडाँडामा पनि २,३ दिन अगाडि कुकुर, कुखुरा लेगेको थियो ।
उता सोमबारको घटना अनुसार तिज मनाउन आफ्नो आमासँग मामाघर हिँडेकी रानालाई बाटोमा पर्ने आफन्त खुमादेवी रानाको घर पुगेर नजिकैको पसलबाट चाउचाउ लिएर घर फर्कने क्रममा झाडीमा लुकेर बसेको चितुवाले  आक्रमण गरि जंगलतर्फ लगेको थियो ।
बालिका चाउचाउ लिएर अबेरसम्म घर नफर्किएपछि बाघले लगेको जानकारी पाउना साथ स्थानीयबासीले जिल्ला प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र स्थानीयले खोज्ने क्रममा घर नजिकै रहेको जङगलमा बालिकाको टाउको, हात र खुट्टा बाहेक शरिरको अरू सबै भाग चितुवाले  खाईसकेको अवस्थामा फेला पारेका थिए ।
घटनास्थलको प्रकृति मुजुल्कासहित बालिकाको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याईएको छ । हामी बसेर चाउचाउ खाँदै थियौ बिचमा रहेकी कान्छी बहिनीलाई चितुवाले  लगेर गयो भन्दै रुँदै आमा र सानी हजुर आमालाई मृतकको दिदीले बताएपछि स्थानीयबासी हारगुहार गर्दै जंगलतर्फ गएका थिए। खोज्दै जादा बाघले  खाएर क्षतविक्षत अवस्थामा बालिकाको शव भेटिएको हो।
नरभक्षी बाघले पछिल्लो ३ वर्षमा १८ जना भन्दा धेरै बालबालिकालाई आक्रमण गरेको छ । त्यसक्रममा १२ जनाको ज्यान गइसकेको छ । बाघको आक्रमणबाट घाइते ६ जना  उपचारपछि ठीक भएका छन् । 
यसअघि जिल्लाको विभिन्न स्थानमा नरभक्षी बाघले दर्जनभन्दा बढी बालबालिकालाई खाएपछिी बाघ मार्ने निर्णय गरि सम्भावित क्षेत्रमा मान्छे खाने चितुवाको खोजी गर्दा अहिलेसम्म फेला पार्न सकिएको छैन ।
सम्भावित क्षेत्रमा प्रहरी सेना परिचालन गरि थापिएको धरापमा अन्य चितुवा परे तर नरभक्षी बाघ अहिलेसम्म मार्न सकिएको छैन । चितुवाआतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाँडा, अर्घा, खाचिकोट, ढिकुरा, नुवाकोटलगायतका स्थानीय त्रसित छन्।