पर्यटन मन्त्री अधिकारीको निधनमा राष्ट्रिय शोकको घोषणा, बिहीबार सार्वजनिक विदा



पर्यटन मन्त्री रवीन्द्र अिधकारी र पर्यटन व्यवसायी आङछिरिङ शेर्पासहित सात जनाको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै सरकारले बिहीबार राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ।
बुधबार भएको उक्त दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद बैठकले बिहीबार सार्वजनिक विदा दिनुका साथै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ।
मन्त्रिपरिषद बैठकपछि जारी वक्तव्यअनुसार बिहीबार सम्पूर्ण सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित नेपाली दूतावास र नियोगहरूलाई सार्वजनिक विदा दिने उल्लेख छ।
 
तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गरी फर्केने क्रममा पाथिभरा मन्दिर दर्शन गरेर आउँदा हेलिकप्टर दुर्घटना भएको थियो।
हेलिकप्टरमा सवार मन्त्री अधिकारी र व्यवसायी शेर्पासहित प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रकुमार श्रेष्ठ, प्राधिकरणकै ध्रुवदास भोछिभोय, मन्त्री अधिकारीका सुरक्षा गार्ड अर्जुन घिमिरे र हेलिकप्टर चालक प्रभाकर केसीको निधन भएको छ।
मन्त्रिपरिषद बैठकले दुर्घटनाका सम्बन्धमा विस्तृत जाँचबुझ गरी सुझावसहितको प्रतिवेदन दिन पूर्वसचिव यज्ञप्रसाद गौतमको अध्यक्षतामा चार सदस्यीय जाँच आयोग गठन गरेको छ।
आयोगमा नेपाली सेनाका सहायक रथी दीपकप्रसाद बास्तोला, अवकाशप्राप्त महासेनानी प्रमोद लामा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने सदस्य छन्। सेतोपाटीमा समाचार छ ।