विज्ञतालाई बेवास्ता गर्दै राजनीति

सुशिल खनाल
नेपाल लगायत विश्वमै राजनीतिलाई पहिलो प्रभावशाली शक्ति मानिन्छ। राजनीतिमा विभिन्न क्षेत्रका मानिसहरुको नेतृत्व र समूह भएमा त्यो सफल हुन्छ र सुदृढ हुन्छ, अन्यथा एउटै समूह र सोंचका मानिसको जमात भएमा त्यो संगठन त बन्ला तर सफल हुनेमा ढुक्क बन्न सकिंदैन।
नेपालको सन्दर्भमा कुरा गर्दा, नेपाल एक स्वतन्त्र, लोकतान्त्रिक गणतन्त्र स्वीकारेको मुलुक हो। यहाँ खासगरी सिद्धानतः कम्युनिष्ट र गैरकम्युनिष्टको राजनीतिक प्रभाव देखिन्छ तर व्यवहारतः न कम्युनिष्ट राजनीतिज्ञ, नेता तथा कार्यकर्ता उसको सिद्धान्तमा अगाडि बढेका छन् न त गैरकम्युनिष्ट उनको सिद्धान्तमा। यहाँ त केबल राजनीति कमाइखाने भाँडो वा शक्ति हातमा लिने खेलो र जसरी पनि नेतृत्वमै टाँसिरहने मेलो बाहेक अरु बन्न सकेन ।
। चाहे जुनसुकै पार्टी वा सिद्धान्तमा किन नहोस्। सबैतिर जानीनजानी आफै माथि रहेर काम गर्ने प्रचलन राजनीतिको फोहोर हो ।
यसरी उदाएका राजनीतिज्ञमा एउटा अनौठो उत्साह र परिकल्पना देखिंदो रहेछ जुन कि हामीभन्दा जानेको र बुझेको यो समाजमा अरु कोही छैन । किनकि सबैभन्दा माथिल्लो ज्ञान सीप त हामीमा छ, हामी जे भन्छौं त्यो नै सर्वेसर्वा हो। यही सोंच र दम्भका कारण कहिलेकाहीं अपृय दुर्घटना भएका छन् तर पनि राजनीतिज्ञहरु सचेत हुँदैनन्।
राजनीति नेपालका लागि सबैभन्दा माथिल्लो मर्यादामा छ तर राजनीति र विज्ञता भन्ने फरक कुरा हुन्। नेपालका राजनीतिज्ञहरुलाई यो भ्रम छ कि यहाँ हामीभन्दा जानेका र हामीजत्तिको अनुभवी र बुझेका अरु छैनन्। नेताहरूको यही गलत बुझाइबाट विभिन्न समयमा विभिन्न प्रतिकूल घटनाहरु घटेका छन्। चाहे ती शिक्षा क्षेत्रमा किन नहोस् चाहे स्वास्थ्यमा नै। विभिन्न समयमा विभिन्न आन्दोलनमा भएका सहमतिमा विज्ञताको सोचविचारभन्दा राजनीतिक निकटता र वैयक्तिक प्रभाव हावी भइरहेका तीता अनुभव हामीसामु ताजै छन्।
२०७५ फागुन १५ गते नेपालमा हेलिकप्टर दुर्घटना भयो जसमा पर्यटन मन्त्रीसहित ७ जनाको निधन भयो । जो दुखद घटना हो । यसका पछाडि पनि विज्ञतामाथि राजनीति हावी भएको महसुस भएको छ। सम्बन्धित क्षेत्रका विज्ञ जसले खराब मौसमका बारेमा बताइरहे, व्यवहारतः सामान्य हेर्दा पनि मौसम खराब भएको सबैले अनुभूत गर्न सकिन्थ्यो । यस्तो हुँदाहुँदै पनि हेलिकोप्टर उडाइयो। त्यसका साथै ५ जना यात्रु मात्र अट्ने ठाउँमा ७ जना जबर्जस्ती राखेको हुनुपर्छ । अर्को, सबैलाई मन्त्रिसँग जानैपर्ने जस्ता अस्वाभाविक दबाब रोक्न कडाइ गर्न नसक्नु, यी र यस्तै गलत प्रवृत्तिको सिकार कहिलेसम्म ? यसलाई प्राविधिकले कहिलेसम्म झेल्ने ? ज्यान जाने जान्दाजान्दै काम गर्नुपर्ने ? यो घटनामा पाइलटको अन्तरात्माले स्विकारेको देखिंदैन। त्यसमा पनि सम्बन्धित क्षेत्रको विज्ञताभन्दा राजनीति हाबी भएको स्पष्ट देखिएको छ। राष्ट्रलाई व्यवस्थित, सक्षम र यतिशील बनाउन विज्ञताको नजरअन्दाज गर्नु ज्यादै खतरनाक छ । नजानेको कुरामा जबर्जस्ती नगरौं। घामको अगाडि दियो भएर धेरै उज्यालो दिन्छु भन्ने परिकल्पना नगरौं ।