संसदीय सुनुवाइ समिति र मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिमबीच घम्साघम्सी

news
संसदीय सुनुवाइ समितिका सांसदले गरेको आग्रहलाई मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले ठाडै अस्वीकार गरेका छन् ।
नागरिकतादेखि शैक्षिक प्रमाणपत्रसमेतमा विवाद आएपछि सात्तारुढ नेकपाकै सांसदहरुले अन्सारीलाई प्रस्तावित अध्यक्ष पदबाट पछि हट्न सुझाएपनि उनले ठाडै अस्वीकार गरेका छन् ।
यसबीचमा सांसहरुसँग उनको घम्साघम्सी नै परेको थियो ।
मंगलबार संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइमा सत्तारुढ नेकपाका सांसद योगेश भट्टराई, सुरेन्द्र पाण्डे र पूर्णकुमारी सुवेदीले कानुनी समस्या आउने भन्दै उनलाई स्वेच्छिकरुपमा पछि हट्न सुझाएका थिए ।
तर, अन्सारीले अस्वीकार गर्दै आफू कुनै हालतमा ‘ब्याक’ नहुने जवाफ फर्काए ।
कुनै त्रुटि नगरेको भन्दै अन्सारीले स्वेच्छिकरुपमा पछि नहट्ने बताएका हुन् ।
नागरिकतामा आफ्नो कारण नभइ अरुका कारण प्रश्न उठेको भन्दै छानबिन गर्न उनले चुनौती नै दिएका छन् ।
अन्सारीको नागरिकतामा फरक–फरक जन्ममिति हुनुका साथै शैक्षिक प्रमाणपत्र भारतीय भेटिएको थियो ।
आयोगको अध्यक्षमा सिफारिस हुनु दुई दिनअघि नै आफूले केन्द्रीय सदस्यबाट राजीनामा दिएको तर्क गर्दै उनले पार्टीले निर्णय गर्न ढिलाइ गरेको बताएका छन् ।
६ माघमा मुस्लिम आयोगको अध्यक्ष सिफारिस हुँदासम्म उनी नेकपाको केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यको समानुपातिकको बन्दसूचीमा थिए ।
मंगलबार बसेको सुनुवाइ समितिको बैठक अरु चार संवैधानिक आयोगका अध्यक्षको नाम अनुमोदन गरेर अनिश्चत समयका लागि स्थगित गरिएको छ ।
यसबाट भने अन्सारी समितिको अनुमोदनबिनै अध्यक्ष बन्ने सम्भावनापनि बढेको छ ।
संवैधानिक परिषदले सिफारिस गरेको ४५ दिनभित्र संवैधानिक आयोगका पदाधिकारीबारे सुनुवाइ समितिले कुनै निर्णय नगरे स्वतः त्यो पदमा पुग्ने व्यवस्था रहेकाले फागुन २५ सम्ममा अन्सारीबारे निर्णय नभए उनी आयोग अध्यक्ष बन्नसक्ने देखिएको छ ।
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसन्चालन नियमावली २०७५ को दफा २६ अनुसार सुनुवाइ समितिले सिफारिस व्यक्तिको नाम पाएको ४५ दिनसम्म कुनै निर्णय नगरे सरकारले उनलाई पदमा नियुक्त गर्न बाधा नपर्ने उल्लेख छ । अन्सारीकाबारेमा त्यो ४५ दिन फागुन २५ गते पुग्दैछ ।
संसदीय सुनुवाइ समितिले कसैको नाम अस्वीकृत गर्न दुईतिहाइ मत आवश्यक पर्ने हुन्छ ।
तर, समितिका नेकपाका सांसद राजेन्द्र श्रेष्ठले बैठक बहिस्कार गरेकाले अस्वीकृत गर्न दुईतिहाइ नपुगेको सत्तारुढ दलकै सांसदको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीनिकट अन्सारीले सांसदहरूलाई आफू कानुनी र अरू सबै किमिमले बलियो रहेको पनि बताएका थिए ।
निर्वाचनअघि राजपा नेपाल त्यागेर तत्कालीन नेकपा एमाले प्रवेश गरेका अन्सारीको नाम ओलीसँगको निकटताकै कारण समानुपातिकतर्फ बन्द सूचीमा मुस्लिमतर्फ एक नम्बरमा राखिएको सत्तारुढ दलकै नेताले बताए । इमेजखबरमा समाचार छ ।