कैलालीको धनगढीमा पछिल्लो समय उद्योगहरु स्थापना हुने क्रम बढ्दै गएको छ ।
विभिन्न किसिमका उद्योग सञ्चालनमा रहे पनि पनि स्वदेशमै कच्चा पदार्थको अभाव र औद्योगिक क्षेत्र घोषणा नगर्दा भने लगानीकर्ता निराश बनेका छन् ।
सुदुरपश्चिम प्रदेशकै महत्वपूर्ण मानिने कैलालीको धनगढीमा अर्बौँको लगानीमा फुड इन्डस्ट्रिज, राइ मिल विस्कुट तथा बेकरी उद्योगलगायतका थुप्रै उद्योग सञ्चालनमा छन् ।
तर उद्योगका लागि चाहिने कच्चा पदार्थको अभावमा व्यवासायीहरु चिन्तित बनेका छन् । नेपाली बजारमा उपलब्ध कच्चापदार्थ २–३ महिना मात्र पुग्ने गरेको छ ।
यस क्षेत्रलाई औद्योगिक क्षेत्र घोषणा गरी कच्चा पदार्थमा आत्मनिर्भर बनाउन स्थानीय सरकारबाट आवश्यक पहल नभएको राइस मिल सञ्चालक राहुल गुप्ताको गुनासो छ ।
समग्र सुदुरपश्चिम प्रदेशमा वर्षेनी भारतबाट अर्बौको कच्चापदार्थ आयात गर्नुपर्ने बाध्यता रहेको छ ।
यस प्रदेशभित्र एउटा पनि औद्योगिक क्षेत्र नहुँदा थुप्रै समस्या भोग्नुपरेको व्यवसायीको दुखेसो छ ।
करमुक्त क्षेत्र नबन्नु, जग्गासम्बन्धी विवाद हुनु र अत्याधिक भन्सार शुल्क असुली हुनुले पनि आफूहरु मारमा परेको विवेक पोल्टी एण्ड फिड्स उद्योेगका संचालक विवेक भट्टको भनाइ छ ।
प्रदेश भित्र सञ्चालित उद्योगका लागि गत आर्थिक वर्षमा १ अर्ब १७ लाख रुपैयाँ बराबरको कच्चा पदार्थ आयत भएकोे कैलाली भन्सार कार्यालयका भन्सार अधिकृत गोपीकृष्ण उप्रेतीले बताए ।
सबै क्षेत्रमा समानुपातिक विकास गर्न त्यसअनुसारको व्यवस्थापन पनि मिलाउनुपर्छ ।
प्रदेशभित्रका उद्योग कलकारखानाका लागि चाहिने आधारभूत पूर्वाधारको जोहो व्यवस्थापनमा सरकारी पहलकदमी आवश्यक छ । इमेजखबरमा समाचार छ ।