सुडानमा खाद्यन्न र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा प्रदर्शन, प्रदर्शनकारीहरु खार्तुमस्थित सैनिक मुख्यालयमा

news
खाद्यन्न र इन्धनमा गरिएको मूल्यवृद्धिको विरोधमा सुडानमा सुरु भएको प्रदर्शन थप चर्किएको छ ।
चार महिनादेखि विरोधमा सहभागी हुँदै आएका प्रदर्शनकारीहरु राजधानी खार्तुमस्थित राष्ट्रपति भवन नजिकै रहेको सैनिक मुख्यालयसम्म पुगेका छन् ।
प्रदर्शनकारीहरु सैन्य मुख्यालयमै पुगेपछि सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेको छ ।
राष्ट्रपति ओमार अल वसिर विरुद्ध नारा लगाउँदै अघि बढेका प्रदर्शनकारीहरुलाई रोक्ने क्रममा सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गरेका हुन् ।
त्यस क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडपसमेत भएको छ । प्रहरीले दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने चेतावनी दिएका छन् ।
सुरुमा खाद्यान्न र इन्धनको मूल्यवृद्धिको विरोध गर्दै प्रदर्शनका उत्रिएकाहरुले अहिले भने राष्ट्रपतिकै राजीनामा माग गरेका छन् ।
चिकित्सक, शिक्षक र इन्जिनियररुको संगठन नै प्रदर्शनमा उत्रिएर यातायातनै ठप्प पारेपछि त्यहाँको जनजीवन बिगत चार महिनादेखि अस्तव्यस्त बनेको छ ।
प्रदर्शनकारीहरुले सुडानका अरु शहरमा पनि दिनहुँ प्रदर्शन गरिरहेका छन् ।
मानव अधिकार समूह ह्यूमन राइट्स वाचले प्रदर्शनका क्रममा सुरक्षा फौजको कारबाहीमा बालबालिका समेत ४० बढीको मृत्यु भइसकेको जनाएको छ ।(एजेन्सी)