पोखरामा विप्लव समूहले राखेको बमलाई निस्क्रिय पार्नेक्रममा घाइते सैनिकलाई उपचारका लागि काठमाडौं पठाइयो

news
नेत्रविक्रम चन्द्र ‘विप्लव’ समूहद्वारा पोखरामा राखिएको बमलाई निस्क्रिय पार्नेक्रममा घाइते भएका सैनिकलाई थप उपचारका लागि काठमाडौं लगिएको छ ।
सो बमबाट कालीभञ्ज्याङ गण रत्नमन्दिर पोखराका नायक धर्मबहादुर थापाको देब्रे हातको हत्केलामा चोट लागेको छ ।
उनको प्रारम्भिक उपचार पोखरास्थित फिस्टेल अस्पतालमा गरिएपछि थप उपचारका लागि काठमाडौं पठाइएको प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी गराए ।
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले बिहीबार पोखराको नदीपुरस्थित प्रदेशसभा भवननजिकको सडकको छेउमा सो बम राखेको थियो ।
यसैबीच, पोखराको चिप्लेढुंगास्थित ट्रेडमलनजिकै शंकास्पद वस्तु फेलापरेपछि नेपाली सेनाको बम निस्क्रिय टोली सो स्थलमा पुगेर निस्क्रिय गर्ने तयारीमा जुटेको छ । रासस