प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरी सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’को अवधारणाअन्तर्गत् शान्ति स्थापना गर्न कटिबद्ध रहेको बताएका छन् ।
सोमबार राजधानीमा नेपाल प्रहरीले एक वर्षमा गरेका कामको समीक्षा गर्दै महानिरीक्षक खनालले प्रहरी संगठनप्रति देखिएको नकारात्मक धारणालाई न्यून गर्न आफू लागिपरेको बताए ।
उनले सुन तस्करीकान्ड, निर्मला पन्त हत्याकान्ड र रामबहादुर बमजनको सवालमा छानबिन गरिरहेको भन्दै अपराधीलाई कुनै हालतमा पनि छुट नदिने स्पस्ट पारे ।
नेपाल प्रहरीले अन्तर्राष्ट्रियरुपमै आफ्नो छवि राम्रो बनाएको उनको भनाइ थियो ।
महानिरीक्षक खनालले नेपाल प्रहरीले थालेको समुदाय–प्रहरी साझेदारी कार्यक्रम सफलताको नमुना भएको दाबी गरे ।
यस्ता कार्यक्रमले देशमा अपराध न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै उनले सन्चारकर्मीहरुलाई पनि सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा नेपाल प्रहरीका प्रवक्ता एसएसपी उत्तम सुवेदीले वार्षिक समीक्षा प्रस्तुत् गरेका थिए । इमेजखबरमा समाचार छ ।