गृहमन्त्री रामबहादुर थापाले प्रदेश सरकारले प्रमुख जिल्ला अधिकारी राख्न नपाउने बताएका छन् ।
आज जनकपुरमा आयोजित प्रदेश सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले प्रमुख जिल्ला अधिकारी (सीडीओ) संघीय सरकारको प्रतिनिधि हुने भन्दै प्रदेश सरकारले समानान्तर सीडीओ राख्न नपाउने स्पष्ट पारेका हुन् ।
गृहमन्त्री थापाले संविधानमा दोहोरो सीडीओको प्रावधान नरहेको भन्दै प्रदेश २ सरकारले कसरी आफ्नै सीडीओ राख्ने हो भन्ने आफुलाई थाहा नभएको बताए ।
गृहमन्त्री थापाले प्रदेश सरकारसँग प्रदेश प्रहरी परिचालन गर्ने अधिकार रहेको र संघीय सरकारको मातहतमा रहेर सीडीओले समन्वय गर्ने बताए ।
राज्यविरुद्ध गतिविधि गर्ने समूहलाई निस्तेज पार्न उनीहरुलाई नियन्त्रणमा लिने सरकारको नीति रहेको उनको भनाइ छ ।
शुक्रबारदेखि शुरु भएको सो सुरक्षा समितिको प्रदेशस्तरीय आन्तरिक सुरक्षा गोष्ठीमा प्रदेश २ का ८ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता छ । इमेजखबरमा समाचार छ ।