सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर

news
विभिन्न बहानामा सेवाग्राहीसँग घुस लिने १९ कर्मचारीलाई रङ्गेहात पक्राउ गरी मुद्दा दायर गरिएको अख्तियार दरुपयोग अनुसन्धान आयोग हेटौँडा कार्यालयले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो नौ महीनामा उनीहरुलाई गोप्य सूचनाका आधारमा पक्राउ गरिएको कार्यालयले जनाएको हो ।
पक्राउ पर्नेमा निजामती प्रशासन, प्राविधिक तथा प्रहरीतर्फका तल्लो तहदेखि अधिकृतस्तरका कर्मचारी हुन् ।
कार्यलयका सूचना अधिकारी देवकुमार राईका अनुसार उक्त अबधिमा भ्रष्टचार र अनियमितताका विषयमा सबैभन्दा बढी उजुरी बारा र पर्साबाट परेको छ ।
उक्त अबधिमा ८१९ उजुरी परेका छन् । कार्यालयको कार्यक्षेत्रभित्र पर्ने प्रदेश नं ३ का नौ र प्रदेश नं २ का दुई जिल्ला गरी ११ जिल्लाबाट उक्त उजुरी परेको सूचना अधिकारी राईले जानकारी दिए ।
उनका अनुसार ती उजुरीमध्ये ४३८ उजुरीको छिनोफानो भइसकेको छ भने बाँकी ३८१ उजुरीमाथि छानबिन भइरहेको छ ।
कार्यालयमा परेका उजुरीमध्ये अधिकांश विकास निर्माण, आन्तरिक आयको विनियोजन, उपभोक्ता समिति तथा ठेकेदारको काम, सामाजिक सुरक्षा भत्ता तथा सार्वजानिक शिक्षा र स्वास्थ्य क्षेत्रका छन् ।
सबैभन्दा बढी बाराबाट परेको २२८ उजुरीमध्ये ८९ वटाको छनोफानो भइसकेको छ ।
त्यस्तै पर्साका १९५ उजुरीमध्ये ९१ बटाको छिनोफानो भइसकेको छ । मकवानपुरको १३२ उजुरीमध्ये ५९ वटाको छिनोफानो भइसकेको कार्यालयले जनाएको छ । रासस