चितवनमा एक शिशुको मृत्यु भएको भन्दै अन्तिम संस्कार गर्न लाग्दा जीवितै

चितवनमा एक शिशुको मृत्यु भएको भन्दै अन्तिम संस्कार गर्न लाग्दा श्वास फेरेपछि अस्पतालमा लगिएकाे छ । शिशुकाे दाहसंस्कार गर्न देवघाट लगेर पुर्न लाग्दा श्वास फेरेकाे देखेपछि पुन: अस्पताल लगिएकाे हाे ।
चितवन मेडिकल कलेजमा आइतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको (मृत) चिकित्सकले जनाएसँगै परिवारले घर लैजान्छु भन्दै अन्त्येष्टिका लागि देवघाट लगेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौँडा घर भएकी अविवाहिता युवतीले शिशु जन्माएकी थिइन् ।
शिशुको मृत्यु भएको भन्दै परिवारले अन्त्येष्टि तयारी गरेकाे अवस्थामा स्थानीयवासीले जीवितै देखेपछि अस्पताल फर्काएर प्रहरीलाई खबर गरेका थिए । त्यसको लगत्तै शिशुकी हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको प्रवक्ता रेग्मीले बताए । शिशुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । 
युवती अविवाहिता भएकी हुनाले उनको नाम र ठेगना गोप्य राखिएको उनको भनाइ थियो । उक्त अस्पतालले शिशुको सोमबार दिउँसाे साढे १२ बजे निधन भएको परिवारलाई जानकारी गराएकाे थियाे । रासस