नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा

news
नेपालमा महिलाहरुमा हुने क्यान्सर मध्ये सर्भाइकल अर्थात पाठेघरको मुखको क्यान्सर दोस्रो नम्बरमा देखिएको छ ।
कम उमेरमा विवाह र धेरै सन्तान जन्माउने महिलाहरु यो रोगबाट बढी प्रभावित छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रवार संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महिलामा हुने सर्भाइकल क्यान्सर रोकथामका लागि खोप कार्यक्रम कार्यान्वयनमा ल्याउने घोषणा गरेकी छन् ।
महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको जोखिम बढ्दै गएको भन्दै सरकारले त्यस विरुद्ध खोप कार्यक्रम ल्याउन लागेको बताइएको छ ।
सरकारले सन् २०१५ र १६ मा कास्कि र चितवनमा यो कार्यक्रमको  शुरुवात गरेको थियो । जसमा १३ हजार किशोरीमा खोप लगाईएको थियो । अब प्रत्येक प्रदेशका कम्तिमा एउटा जिल्लामा यो कार्यक्रम सञ्चालन गरिने भएको छ ।
महिनावारी नभएका ९ देखी १३ बर्ष उमेर समुहका किशोरीहरुलाई यस्तो खोप दिने सरकारको उदेश्य छ । ह्युमन पापिलोमा भाईरसका कारण महिलामा सर्भाइकल क्यान्सर हुन्छ ।
शारीरिक सम्र्पक नगरेका किशोरीहरुलाई यस रोग विरुद्धको खोप दिइयो भने त्यसले सर्भाइकल क्यान्सर  रोकथाम गर्ने स्त्रीरोग विशेषज्ञ डा. गिता गुरुङ् बताउँछिन् ।
सानो उमेरमा नै विवाह गर्ने , धेरै सन्तान जन्माउने र धेरै जना सँग योन सम्र्पक गर्ने महिलामा सर्भाइकल क्यान्सर हुने खतरा उच्च रहन्छ ।
यो शारीरिक सम्र्पकवाट नै सर्ने रोग हो । रोग प्रतिरोधात्मक क्षमताका कारण ९० प्रतिशत महिलामा ह्युमन पापिलोमा भाईरस शरीरमा प्रवेश गरेको २ बर्षमै निस्क्रिय हुने डा.गुरुङ् बताउँछिन् ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक बर्ष विश्वमा ५ लाख ७० हजार महिला सर्भाइकल क्यान्सर वाट प्रभावित हुन्छन् ।
सरकारले अघि सारेको खोप सबै जिल्लामा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने हो भने यो समस्या कम गराउन सहयोग पुग्छ ।
त्यसो त कम उमेरमा विवाह गर्ने प्रवृत्ति नियन्त्रण गर्ने हो भने पनि सर्भाइकल क्यान्सरको जोखिम स्वतः कम गराउन सकिन्छ । 
 इमेजखबरमा समाचार छ ।