नेपालको सबैभन्दा गर्मी हुने ठाउँको उपमा पाएको बाँकेको नेपालगन्जमा यस वर्ष पनि तापक्रम उच्च देखिएको छ ।
गृष्म ऋतुको आगमनसँगै बढ्न थालेको नेपालगन्जको अधिकतम् तापक्रम ४२ डिग्री सेल्सियस पुगेको छ ।
त्यसैगरी, ज्यादा गर्मी हुने कैलाली, भैरहवा, सर्लाही, रौतहटका जिल्लामा पनि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ ।
अत्यधिक गर्मीको उकुसमुकुसबाट तराईबासी दिक्दार बनेका छन् ।
गर्मीसँग सम्बन्धित रोगहरुको संक्रमणका कारण अस्पतालमा बिरामीको चापसमेत बढेको छ ।
सधैंजसो चहल–पहल र भीडभाड देखिने सडक र गल्ली पनि दिउँसोको समयमा प्रचन्ड गर्मीले सुनसानजस्तै देखिन थालेका छन् ।
घरमा पंखा, एसी चलाएर बस्नेहरुलाई त गर्मीको कारण छट्पटी हुने गरेको छ भने मजदुरी गरेर जीविका चलाउनेहरु त गर्मीको तापमा झन् सेकिनुपरेको छ ।
गर्मीसँग चल्ने तातो हावाले जनजीवन अस्तव्यस्त बनाएको हो ।
सर्वसाधारण गर्मी छल्नका लागि विभिन्न पार्क, हरियाली वा रुखको छहारीको सहारा लिन बाध्य बनेका छन् । तर, सहरी क्षेत्रमा हरिया रुख–बिरुवा र छहारी नहुँदा गर्मी छल्न समस्या हुने गरेको छ ।
गर्मी बढेसँगै चिसो पेयपदार्थ र फलफूलको व्यापार बढेकाले केही व्यापारी भने उत्साहित छन् ।
बढ्दो गर्मीका कारण स्थानीय व्यापार–व्यवसायसमेत घटेको व्यवसायी बताउँछन् । इमेजखबरमा समाचार छ ।