पत्रकार महासंघद्दारा दोस्रो चरणको आन्दोलन घोषणा, मोरङका पत्रकारहरुले रोएर विरोध गरे

नेपाल  पत्रकार महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।    
मिडिया काउन्सिल विधेयकमा रहेकाे प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघ दोस्रो चरणको आन्दोलनमा
मिति : २०७६।०२।०५
नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको बैठक महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७६ जेठ ५ गते केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णय जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।
१. नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भई त्यसको विरोधमा पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष महासंघले निकालेको छ । पहिलो चरणको आन्दोलन सफल पार्न सहयोग पु¥याउने आम सञ्चारकर्मी, मानव अधिकारवादीहरु, पेशागत संघसंगठनहरु, नागरिक समाज र सम्बन्धित सबैमा महासंघ हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछ ।
२. पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज मागहरु सम्वोधन गर्नेतर्फ कुनै गम्भीरता देखाएको छैन । समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
३. केन्द्रीय समितिको बैठक अघि पत्रकार महासंघको आयोजनामा संचार सम्वद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग संयुक्त बैठक बस्यो । उक्त बैठकमा प्राप्त सुझाव समेतका आधारमा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघले निम्नाअनुसार विरोधका कार्यक्रम तय गरेको छ ।
संघर्षका कार्यक्रमहरु
जेठ ६ र ७ गते – महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श ।
जेठ ८ गते – संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने ।
जेठ ९ देखि १२ गतेसम्म – सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने ।
जेठ १३ र १४ गते – सांसदहरुसँग भेट गरी छलफल गर्ने ।
जेठ १६ र १७ गते – प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता ।
जेठ १८ देखि २० गतेसम्म – महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने ।
जेठ २१ र २२ गते – महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।
जेठ २३ र २४ गते – केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।
जेठ २५ गते – अपरान्ह ३ः०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने । काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने ।
(नोट : मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने ।)
………………
रमेश विष्ट
महासचिव
  
मोरङका पत्रकारहरुले रोएर विरोध गरे
news
सरकारले प्रेस स्वतन्त्रता कुन्ठित हुनेगरी मिडिया काउन्सिल विधेयक ल्याएको भन्दै मोरङका पत्रकारहरुले ‘रोएर’ विरोध गरेका छन् ।
आइतबार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयको मूलगेटमा विधेयकको विरोधमा प्रतिकात्मकरुपमा आधा घन्टा रोएर विरोध जनाएका हुन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाले आयोजना गरेको विरोध कार्यक्रममा सहभागीहरुले डाँको छाडेर रुँदै पत्रकारलाई यथार्थमै रुने अवस्था सिर्जना नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
विधेयक संसदबाट हुबहु पारित भए त्यसले पत्रकार रुने अवस्था आउने भन्दै प्रतिकात्मक विरोधस्वरुप रोएर विरोध गरेको प्रेस युनियन मोरङका अध्यक्ष कुमार लुइँटेलले बताए ।
पत्रकार महासंघ प्रदेश नम्बर–१ का अध्यक्ष विक्रम लुइँटेलले प्रेस अधिकार नै हनन् हुने कानुनले पत्रकारको कलम बन्द हुने स्थित आउने बताए ।
विरोध कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्थालेसमेत ऐक्यबद्धता जनाएका छन् । इमेजखबरमा समाचार छ ।