नुवाकोटका ४ हजार ५ सयभन्दा बढी भूकम्पपीडित पहिलो किस्ताको अनुदानसमेत नलिई सम्पर्कविहीन

news
नुवाकोटका ४ हजार ५ सयभन्दा बढी भूकम्पपीडित पहिलो किस्ताको अनुदानसमेत नलिई सम्पर्कविहीन भएका छन् ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले ४ हजार ५८८ लाभग्राही सम्पर्कविहीन भएको जनाएको छ । लाभग्राहीको सूचीमा परेकाहरु नै अनुदान रकम लिन सम्पर्कमा नआएको कार्यालयको भनाइ छ ।
सम्पर्कमा नआएकाहरु घर नभत्किएका, बस्न योग्य एकभन्दा बढी घर भएका, एकाघरमै रहेर पनि भूकम्पपीडित लाभग्राहीको सूचीमा आफूलाई राखेका र बस्नयोग्य घर भएर बनाउन आवश्यक नपरेकाहरू भएको हुन सक्ने प्राधिकरण कार्यालयको अनुमान छ ।
सम्पर्कमा आएमा आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यालयको भनाइ छ ।
१२ वटा स्थानीय तह रहेको नुवाकोटमा २०७२ सालमा गएको भूकम्पका कारण १ हजार ११२ जनाले ज्यान गुमाएका थिए भने ५ हजार जना घाइते भएका थिए । भूकम्प गएको चार वर्ष बितिसक्दा पनि नुवाकोटमा भूकम्पपीडितको घर पुनर्निर्माणको गति अझै पनि निराशाजनक छ ।
भूकम्पले जिल्लामा ध्वस्त हुन पुगेका ७६ हजार घरमध्ये ३२ हजारभन्दा बढी घर अझै निर्माण हुन बाँकी छन् । इमेजखबरमा समाचार छ ।