अफ्रिकी युनियनले सुडानको सदस्यता निलम्बन गरेको छ ।
सुडानका सैन्य शासकले राजधानी खार्तुममा नागरिकमाथि हिंसात्मक दमन गरेको भन्दै अफ्रिकी युनियनले सदस्यता निलम्बन गरेको हो ।
खार्तुममा भएको हिंसामा दर्जनौं मानिसको मृत्यु भएको छ ।
अफ्रिकी युनियनले नागरिक अधिकार प्रत्यायोजन गर्न र प्रजातन्त्रका लागि गरिएको प्रदर्शनमाथि बल प्रयोग नगर्न सुडानका सैन्य शासकलाई आग्रह गरेको छ ।
राजधानी खार्तुममा जारी प्रदर्शनका क्रममा सरकारी सेनाको दमनमा कम्तिमा १ सय ८ को मृत्यु भएको छ ।
सुडानमा प्रदर्शनकारी नेताहरूले सत्तारूढ सैनिक परिषद्सँगको वार्तासमेत अस्वीकार गरेका छन् ।
सैन्य शासकले नागरिकमाथिको दमन कायमै राखेको भन्दै प्रदर्शनकारी नेताहरूले वार्ताको कुनै औचित्य नभएको बताएका हुन् । सैन्य दमनमा घाइते हुनेको संख्या ५ सय नाघेको छ ।
यद्यपि, सरकारी अधिकारीले मृतकको संख्या १०८ पुगेको अस्वीकार गरेका छन् ।
उनीहरूले सैनिक कारबाहीका क्रममा ४६ जनाको मात्रै ज्यान गएको दाबी गरेका छन् ।
तर, सैनिक मुख्यालयबाहिर चलाएको गोली लागेर मृत्यु हुनेको संख्या सय नाघेको चिकित्सकहरुले बताएका छन् ।
उनीहरुले कम्तिमा ४० जनाको शव खार्तुमको नाइल नदीबाट निकालेको पनि दाबी गरेका छन् ।
विरोध प्रदर्शन चर्कंदै गएपछि परिषद्ले सत्ता हस्तान्तरणसम्बन्धी नागरिक मोर्चासँग गरेको सम्झौता भंग गरी ९ महिनाभित्र आमनिर्वाचन गर्ने घोषणा गरेको थियो ।
सुडानको सेनाप्रमुख अब्देल फताह अल–बुरहानले टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै क्षेत्रीय र अन्तर्राष्ट्रिय सुपरीवेक्षणमा निर्वाचन गराउने बताएका छन् ।
तर सैनिक दमनमा मृत्यु हुनेको संख्या बढेपछि प्रदर्शनकारी नेताहरूले वार्ता अस्वीकार गरेका हुन् ।
तीन दशकदेखि सत्तामा रहेका राष्ट्रपति ओमार अल बसिरलाई सत्ताच्यूत गरेपछि सेनाले परिषद् गठन गरी ३ वर्षभित्र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने जनाएको थियो । तर त्यसविरुद्ध नागरिकस्तरबाट प्रदर्शन नरोकिएपछि सेनाले हस्तक्षेप गरेको हो ।(एजेन्सी)