गोरखा भूकम्पबाट चार हजार ६४६ विद्यालय पुनःनिर्माण सम्पन्न

news
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले विनाशकारी ‘गोरखा भूकम्प’बाट क्षति पुगेका सात हजार ९२३ विद्यालयमध्ये चार हजार ६४६ ओटा विद्यालय पुनःनिर्माण सम्पन्न भएको जनाएको छ ।
मंगलबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा इकाइले एक हजार ६१५ विद्यालय भने निर्माणधीन रहेको जनाएको हो ।
विद्यालय व्यवस्थापन समिति, गैरसकारी संस्था र निर्माण व्यवसायीहरुमार्फत् हाल विद्यालय पुनःनिर्माण भइरहेको छ ।
तीमध्ये ८० प्रतिशतमा नेपाल सरकार र दातृसंस्थाहरुको सहयोगमा र १० प्रतिशतमा गैरसरकारी संस्थाहरुको सहयोगमा काम भइरहेको जानकारी दिइयो ।
कार्यक्रममा केन्द्रीय आयोजना कार्यान्वयन इकाइ प्रमुख इमनारायण श्रेष्ठले विद्यालय पुनःनिर्माण सम्पन्न गर्न अझै ११९ अर्ब रुपैयाँ रकम लाग्ने बताए ।
अबको दुई वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने योजना बनाएको भन्दै उनले पुनःनिर्माणमा स्थानीयको अवरोध तथा जग्गा उपलब्ध नहुनेलगायतका समस्या रहेको बताए । इमेजखबरमा समाचार छ ।