ओमानको खाडीमा तेल ट्यांकरमा भएको विस्फोटमा इरानकै संलग्नता रहेको साउदी अरेबियाको आरोप

news
साउदी अरेबियाले ओमानको खाडीमा तेलका दुई ट्यांकरमा भएको बिस्फोटमा इरानकै संलग्नता भएको आरोप लगाएको छ ।
ट्यांकरमा भएको विस्फोटको घटनामा अमेरिकाले पनि इरानमाथि नै दोष लगाउँदै आएको छ । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले इरानले ट्यांकरमा आक्रमण गरेको आरोप लगाएका हुन् ।
उनले आफ्नो देश कुनै पनि किसिमको चुनौती सामना गर्न नहिच्किचाउनेसमेत बताए । इरान र साउदी अरेबियाबीचको सम्बन्ध खराब छ । दुई देश एक अर्काकाका प्रतिद्वन्द्वी हुन् ।
युवराज सलमानले स्थानीय पत्रिकासँग कुरा गर्दै आफूहरु यो क्षेत्रमा युद्ध नचाहने भए पनि कुनै पनि किसिमको चुनौती सामना गर्नका लागि भने नहिच्किचाउने बताए । इरानले जापानका प्रधानमन्त्रीको तेहरान भ्रमणको सम्मान नगरेको र सोही बेला ट्यांकरमा आक्रमण गरेको उनको भनाइ छ ।
इरानले साउदी अरेबियाले लगाएको आरोपको प्रतिवाद गरेको छ । उसले घटनामा आफ्नो संलग्नता नरहेको पुनः दाबी गरेको छ । यसअघि अमेरिकी पत्रिका वासिङ्टन पोस्टले एक भिडियोमा इरानी सेनाले सानो डुंगामा आएर बिस्फोट नभएका माइन एक ट्यांकरबाट निकालिरहेको देखिएको उल्लेख गरेको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यसैलाई आधार मानेर घटनामा इरानकै संलग्नता रहेको बताएका थिए ।
ओमानको खाडीमा गत बिहीबार जापान र नर्वेको स्वामित्वमा रहेका दुई वटा ट्यांकरमा आक्रमण भएको थियो । घटनाले इरान र अमेरिका तथा इरान र साउदी अरेबियाबीचको तनावपूर्ण सम्बन्धमा थप समस्या निम्त्याउँदै गएको छ । एजेन्सी