यस वर्ष पानी कम पर्ने

news
देशैभर पानी पर्न अझै चार दिन कुर्नुपर्ने भएको छ । हाल मनसूनी न्यूनचापीय रेखा दक्षिणतिर रहेकाले नेपालको सबैतिर पानी पर्न जुलाई ७ कुनुपर्ने मौसमविदले बताएका छन् । 
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार न्यूनचापीय रेखा मध्यभारतमै रहेकाले मनसुन कमजोर भएको हो ।
१३ दिन अगावै मनसून नेपाल भित्रिएको भनिएपनि नेपालको सबैतिर भने असारको २२ नभई पानी नपर्ने मौसमविद समीर श्रेष्ठले जानकारी दिए ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले यही असार ५ गते मनसुन भित्रिएको घोषणा गरेपनि पछिल्ला दिनमा पानी पर्नुको साटो देशैभर ह्वात्तै गर्मी बढेको छ ।
पाकिस्तानदेखि बंगालको खाडीसम्म पूर्वपश्चिम लमतन्न फैलिएको मनसूनी न्यूनचापीय रेखा उत्तरदक्षिण सरिरहने र अहिले त्यो रेखा दक्षिणतिर रहेकाले नेपालमा पानी पर्न अझै केही दिन लाग्ने मौसमविद श्रेष्ठले बताए । दक्षिणी भारततिर पानी बढी पर्नुको कारण पनि त्यही रहेको उनले बताए ।
काठमाडौंमा अचाक्ली गर्मी, हल्का मात्रै वर्षा
कमजोर अवस्थाको मनसुनले हल्का र क्षणिक वर्षा गराएपनि तत्काल भारी वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँ उपत्यकामा बिहान र साँझपख हल्का वर्षा हुने गरे पनि मध्याह्नमा चर्को घाम लाग्ने र दिउँसो बदली हुने क्रम जारी छ । आंशिक बदली र घाम लाग्ने क्रमले गर्दा उपत्यकाका बर्ढी गर्मी महशूस गरिएको छ ।
तीन दिनयता काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३१ देखि ३२ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेकामा आज ३१ दशमलव ८ डिग्री सेल्सियसमा झरेको छ । यसअघि जेठ ३१ गते यो वर्षकै बढी तापक्रम ३३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो । 
मनसून नै भित्रियो ढिला
उसोत यसवर्ष मानसून नै पनि ढिला प्रवेश गरेको हो । सामान्यतः १० जुनमा प्रवेश गर्नुपर्ने मनसून दश दिन ढिला गरेर २० जूनबाट मात्र नेपाल छिरेको हो ।
१० जुनमा पूर्वबाट प्रवेश गरेको मनसून वायु १२ जुनमा काठमाडौंमा भित्रने गर्दथ्यो । जुलाई ७ सम्म यस्तै अवस्था रहने र पानी पर्दा पनि देशैभर नपरेर खण्ड वर्षा हुने मौसमविद श्रेष्ठले जानकारी दिए ।
नेपालको सबैतिर यतिबेला गर्मीको पारो मात्र चढेको छैन, पानी पर्ने दिन अझै टाढिँदै छ । मौसम विभागले नेपालको पूर्वी क्षेत्र हुँदै भित्रिएको मनसुन पूर्ण सक्रिय हुन अरु तीन÷चार दिन लाग्ने जनाएको छ ।
नेपालमा सामान्यतः जुन १० तिरबाट मनसुनी वायु प्रवेश गरी सेप्टेम्बरको अन्त्य वा अक्टोबरको पहिलो हप्तातिर बाहिरिने गर्दछ । नेपालमा साधारणतः जुन १० देखि सेप्टेम्बर २३ सम्म चार महिनाको अवधिलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ ।
यस वर्ष पानी कम पर्ने
एकातिर मनसून ढिला प्रवेश गर्नु, त्यसमा पनि सक्रिय नहुनुले आम कृषकलाई चिन्ता थपिदिएको छ । अझ यसै वर्ष पानी पनि कम पर्ने जल तथा मौसम विभागले जनाएको छ ।
पूर्वी तथा मध्य क्षेत्रमा औसमभन्दा कम मात्र पानी पर्नेछ । पश्चिमका जिल्लाहरुमा भने औसम वर्षा हुने जनाइएको छ । त्यसमा पनि ५ नम्बर प्रदेशका जिल्लामा चाहिं कम पानी पर्नेछ ।
पानी नपर्दा कृषकलाई अतिसाध्य पीडा
असार आम किसानका लागि चटारोको समय । नेपाल कृषिमा आधारित अर्थतन्त्र भएको मुलुक । यो महिनाभरको परिश्रम र दुःखले वर्षदिनका लागि खानाको जोहो गर्नुपर्ने बाध्यतामा छन् कृषक ।
नेपालको अधिकांश जमीन आकाशे पानीमा निर्भर छ । त्यसैले पनि आकाश वर्षेन भने खेतबारी बाँझै रहन्छन् । यस वर्ष यस्तै पीडामा छन् कृषक ।
असारले आधा ढाड देखाइसक्यो । तर पानी पर्दैन । हुनत मौसमविदले आधा महिना अगावै नेपालमा मनसून प्रवेश गरेको बताएका हुन् । तर पानी नपरेपछि किसान अन्यौलमा छन् ।
नेपालको अन्नभण्डार मानिएको तराई होस् वा पहाडका कृषियोग्य फाँटहरु धेरै आकाशे पानीकै पर्खामा छन् । सिंचाई सुबिधा पुर्याउन नसक्दा खेतियोग्य जमीन धाँजा फाँटेर लडिरहेका छन् ।
ब्याडमा राखिएका बिउ पानी नपरेरै सुकेर गैसकेको छ । पानी जोहो गर्न सक्नेहरुले कहिंकतै अलिअलि रोपाई गरेपनि अधिकांश क्षेत्रको यस्तै समस्या रहेको छ ।
यस्तो छ नेपालमा मनसूनको इतिहास
जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार नेपालमा सन् १९७९ मा सबैभन्दा छोटो अर्थात् ७३ दिन मनसून रहेको थियो ।
जबकी सन् २००८ मा भने अहिलेसम्मकै लामो १३० दिन मनसून रहेको थियो । जुन १० मा भित्रिएको मनसून अक्टोबर १७ मा बाहिरिएको थियो ।
सन् १९९६ मा सबैभन्दा छिटो मनसूनी वायु नेपाल भित्रिएको थियो । त्यतिबेला मे ३१ मै मनसून भित्रिएको थियो ।
अहिलेसम्मको तथ्यांकमा सबैभन्दा छिटो सन् १९९५ मा सेप्टेम्बर २ मै मनसून नेपालबाट बाहिरिएको थियो भने सन् २०१३ मा सबैभन्दा ढिला अर्थात् अक्टोबर १९ मा नेपालबाट बाहिरिएको थियो ।
यस्तो छ तीन दिनको मौसमी अनुमान
बुधवार राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विहीवार भने देशभर आंशिकदेखि सामान्य बदली रही धेरै जसो स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । मध्य र पश्चिमको एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।
शुक्रबार देशभर सामान्य बदली रही देशको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   इमेजखबरमा समाचार छ ।