रुसको मस्कोमा विशाल प्रदर्शन, हजार बढी प्रदर्शनकारी पक्राउ

news
स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएको विरोधमा रुसको मस्कोमा विशाल प्रदर्शन भएपछि प्रहरीले एक हजारभन्दा बढीलाई पक्राउ गरेको छ ।
सिटी हलमा भएको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दै ठूलो संख्यामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो ।
विपक्षीलाई चुनावमा सहभागी हुन नदिएको भन्दै प्रदर्शनकारीहरुले चर्को विरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्दै गिरफ्तार गरेको हो ।
सत्तापक्षले राजनीतिक स्वार्थपूर्तिका लागि विपक्षीलाई निर्वाचनमा सहभागी हुन नदिएको आरोप प्रदर्शनकारीहरुले लगाएका छन् ।
सरकारले आगामी सेप्टेम्बर ८ मा हुने चुनावका लागि केही उम्मेदवारलाई प्रतिबन्ध लगाएपछि विरोध चर्किएको हो ।
निर्वाचन अधिकारीले ३० उम्मेदवारले आवश्यक पर्ने हस्ताक्षर संकलन गर्न नसकेको भन्दै चुनावका लागि अयोग्य घोषित गरेका छन् ।
सरकारी अधिकारीले प्रतिबन्धित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा १ हजार ७४ जनालाई पक्राउ गरिएको जनाएका छन् । तर पक्राउ पर्नेको संख्या त्यो भन्दा बढी भएको बताइएको छ ।
मस्कोका मेयर सर्गेइ सोब्यानिनले शहरको सुरक्षामा चुनौती दिँदै प्रदर्शन गरिएकाले पक्राउ गरिएको बताएका छन् ।
विपक्षी नेता एलेक्सेइ नाभाल्नीलाई गत बुधबार बिना स्वीकृति प्रदर्शनको आह्वान गरेको भन्दै ३० दिनको जेल सजाय दिइएको छ ।
उनी राष्ट्रपति भ्लादिमिर पुटिनका चर्को आलोचक मानिन्छन् । -एजेन्सी