सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थी संगठनहरुले विभिन्न माग राख्दै तीन हप्तादेखि आन्दोलन जारी राखे पनि कुनै सुनुवाइ भएको छैन । विद्यार्थी संगठन र प्रशासनको विवादका कारण विद्यार्थी मारमा परेका छन् ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका संयुक्त विद्यार्थी संगठन र स्ववियुको संयुक्त आयोजनामा विद्यार्थीहरुले चरणवद्ध आन्दोलन गरेका छन् । गत साउन १ गते विश्वविद्यालयका रजिस्टार समक्ष वृद्धि शिक्षण शुल्क खारेज गर्नुपर्ने, पदाधिकारी, प्राध्यापक र कर्मचारीको दोहोरो सुविधा कटौती गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर आन्दोलनमा उत्रिएका उनीहरुको आन्दोलन जारी छ । अराजक तरिकाले गरिएको आन्दोलनका कारण पढाइमा बाधा परेको कतिपय विद्यार्थीले गुनासो गरेका छन् ।
सोही विश्वविद्यालयका विद्यार्थी भरत शाही विभिन्न बहानामा गरिएका यस्ता आन्दोलनले उल्टै विद्यार्थीको शान्तिपूर्ण वातावरणमा पढ्न पाउने अधिकार हनन् भएको गुनासो गर्छन् ।
आफूहरुका माग सुनुवाइ हुनुपर्ने भन्दै एक हप्ताको अल्टिमेटम दिएकामा विश्वविद्यालयले सम्बोधन नगरेपछि चरणबद्ध आन्दोलन भइरहेको विद्यार्थी संगठनको दाबी छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयका स्वयवियू सभापति झकबहादुर शाहीले विद्यार्थीका मागलाई नजरअन्दाज गरिएकाले त्यसबाट आउने परिणाम भोग्न प्रशासन तयार हुनुपर्ने चेतावनी दिए ।
यता, विश्वविद्यालयले भने विद्यार्थीका माग जायज नभएकाले पूरा गर्न नसकिने अडान लिएको छ । विश्वविद्यालयका निमित्त रजिष्टार अनन्तराज घिमिरे महँगीलाई मध्यनजर गरी शुल्क निर्धारण गरिएको दाबी गर्छन् ।
विद्यार्थीका जायज मागलाई प्रशासनले नजरअन्दाज गर्न त मिल्दैन नै, साथसाथै आन्दोलनका बहानामा नियमित पढाइमा अवरोध आउनुुहुन्न । इमेजखबरमा समाचार छ ।