स्वास्थ्यका कार्यक्रम लागू गराउने आधिकारिक निकाय स्वास्थ्य सेवा विभागमा एक वर्षमा तीनपटकसम्म महानिर्देशक परिवर्तन हुँदा काम-कारबाही प्रभावित बन्ने गरेका छन् ।
अवकाश हुन लागेका कर्मचारीलाई बढुवा गरेर विभागमा पठाउने गरेकाले स्वास्थ्य सेवा विभागमा प्रभावकारी काम हुन नसकेको हो ।
स्वास्थ्य सेवा विभाग स्थापना भएको २६ वर्षमा २४ जना महानिर्देशक भइसकेका छन् । जसको प्रत्यक्ष प्रभाव स्वास्थ्यका कार्यक्रममा पर्ने गरेको छ ।
सर्वसाधारणमा सुलभरुपमा स्वास्थ्य सेवा पुर्याउने, औषधि उपकरण खरिद गर्नेलगायत कार्यक्रम र नीति लागू गराउने जिम्मा स्वास्थ्य सेवा विभागको हो ।
२०५० सालमा स्थापना भएको विभागमा एक वर्षमा तीनपटकसम्म महानिर्देशक परिवर्तन हुँदा काम प्रभावित भएको हो ।
सरकार परिवर्तन भएसँगै राजनीतिक नियुक्तिका कारण स्वास्थ्यका धेरै काम प्रभावित बनेका हुन् ।
केही महानिर्देशकलेमात्र मुस्किलले एक वर्ष विभागमा काम गर्न पाएका छन् ।
हाल स्वास्थ्य मन्त्रालयका वरिष्ठ चिकित्सक डा. सुशीलनाथ प्याकुरेललाई गत असारमा १२औं तहमा बढुवा गदै विभागको जिम्मेवारी दिइएको छ । प्याकुरेलले भदौ २२ गते अवकाश पाउँदैछन् ।
१५ महिनादेखि विभाग सम्हाल्दै आएका डा. गुणराज लोहनीलाई विराटनगर सरुवा गरेर मन्त्रालयले दुई दुई महिनाका लागिमात्र प्याकुरेललाई महानिर्देशक बनाएको थियो ।
यस्तै, २०७४ सालमा एक/एक महिनाको अन्तरालमा तीनजनाले महानिर्देशकको जिम्मेवारी सम्हालेका थिए ।
२०७४ माघमा डा. तारानाथ पौडेललाई महानिर्देशकको जिम्मेवारी दिइएको थियो भने फागुनमा डा. विनोदमान श्रेष्ठ र चैतमा डा. गुणराज लोहनीले जिम्मेवारी पाएका थिए ।
यस्तै, २०५६ र ०६२ सालमा पनि एक वर्षमा दुईजना महानिर्देशक बनेका थिए ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. महेन्द्र श्रेष्ठले सरकार परिवर्तनसँगै महानिर्देशक पनि परिवर्तन हुने प्रणाली बसेका कारण विभागले प्रभावकारी काम गर्न नसकेको स्वीकार गरे ।
महानिर्देशक परिवर्तनले नीति र कार्यक्रममासमेत प्रभाव पार्ने भन्दै प्रवक्ता श्रेष्ठले स्वास्थ्यका कार्यक्रम कार्यान्वयनमासमेत असर देखिएको बताए ।
विभागअन्र्तगत् पाँचओटा महाशाखाहरु रहेका छन् । जसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, नर्सिङ तथा विपन्न नागरिक सामाजिक सुरक्षा महाशाखा, व्यवस्थापन महाशाखा, परिवार कल्याण महाशाखा र उपचारात्मक महाशाखा रहेका छन् । इमेजखबरमा समाचार छ ।