युवकको हत्यारालाई कारवाहीको माग गर्दै महोत्तरीको जलेश्वर बन्द

news
युवकको हत्यारालाई कारवाहीको माग गर्दै आज महोत्तरीको सदरमुकाम जलेश्वर बन्द गरिएको छ ।
गत साउन १६ गते जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका-६ स्थित रातो खोलामा स्थानीयवासी २९ वर्षीय सरोजकुमार साहलाई हत्या गरेर फालिदिएको अवस्थामा शव बरामद भएकामा प्रहरीले अहिलेसम्म हत्यारा पत्ता नलगाएको भन्दै पीडित परिवार र जलेश्वरका बासिन्दाले आज जिल्ला सदरमुकाम जलेश्वर बन्द गराएका छन् ।
आज बिहानैदेखि जलेश्वरका सबै पसल, बजार, उद्योगधन्दा र कलकारखानाहरु बन्द गराउँदै उनीहरुले प्रहरीविरुद्ध नाराबाजीसमेत गरेका छन् ।
बन्दका कारण जलेश्वरका जनजीवन प्रभावित बनेको छ ।  पाइन्ट र गञ्जीमात्रै लगाएको, नाकबाट रगत बगेको तथा शरीरको अन्य भागमा चोटपटक लागेको अवस्थामा प्रहरीले रातो खोला किनारमा फालिएको अवस्थामा सरोजको शव बरामद गरेको थियो । 
यता युवक साहको हत्याको आरोपमा प्रहरीले दुई जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए । उनले घटना रहस्यमय रहेको बताउँदै आवश्यक अनुसन्धानका लागि समय लाग्ने तर हत्यारा अवश्य पत्ता लाग्ने प्रतिबद्धता व्यक्त गरे । (रासस)