कांग्रेसद्धारा राष्ट्रियसभाको बैठक अवरुद्ध

news
राष्ट्रियसभाको बैठक पनि कांग्रेसले अवरुद्ध गरेको छ । बाँके घटनामा संलग्नलाई कारवाहीको माग गर्दै कांग्रेस सांसदहरुले राष्ट्रियसभा बैठकमा पनि अवरोध गरेका हुन् ।
बैठक शुरु हुनासाथ कांग्रेसका सांसदहरुले उठेर विरोध गरेपछि सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कांग्रेस सांसद बद्री पाण्डेलाई बोल्न समय दिएका थिए । सांसद पाण्डेले बाँकेको खजुरामा  अरिंगालको आक्रमण देखिएको भन्दै ज्यान लिने नियतले भएको सांघातिक हमलामा संलग्नलाई कारवाही नगरेसम्म बैठक सञ्चालन हुन नसक्ने चेतावनी दिए ।
प्रतिपक्षका सांसदहरुले सरकारको धारणा माग गरेपछि गृहमन्त्रीले उक्त घटनाका विषयमा स्पष्टिकरण दिएका थिए । तर, गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले उठेर विरोध जारी राखे ।
कांग्रेसका सांसदको अवरोधपछि अध्यक्ष तिमिल्सिनाले बैठक ३० मिनेटका लागि स्थगित गरेका थिए । तर, बैठक स्थगितपछि सदन सुचारु गर्न भएको छलफलमा पनि कांग्रेसले आफ्नो अडान नछाडेपछि बैठक भोलि बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ ।
यसअघि आजै बसेको प्रतिनिधिसभाको बैठक पनि कांग्रेस सांसदहरुले अवरुद्ध गरेका थिए ।
बिहीबार बाँके जिल्लाको खजुरा गाउँपालिका-२ सीतापुरमा भएको कांग्रेसको जागरण कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गरी जिल्ला सभापति किरण कोइरालासहित केही कार्यकर्ता घाइते भएका थिए । इमेजखबरमा समाचार छ ।