प्रमुख प्रतिपक्षी दल कांग्रेसद्धारासंसद अबरोध

news
 प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अबरोध गरेको छ । राष्ट्रिय जागरण अभियानको क्रममा बाँके सभापति किरण कोइरालालाई आक्रमण गर्ने सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्तामाथि कारबाहीको माग राख्दै कांग्रेसले सदन अबरूद्ध गरेको हो ।
घटनाबारे आइतबार गृहमन्त्री रामबहादुर थापाले प्रतिनिधिसभा बैठकलाई जानकारी गराउँदा घटनालाई राजनीतिकरण नगर्न भनेपछि आपत्ति जनाउँदै कांग्रेस सांसदले सदन अबरुद्ध गरेका हुन् । गृहमन्त्री थापाले बाँके घटना घटाउने नेकपाको कुनै नीति र निर्देशन नभएको प्रष्टीकरण पनि दिएका थिए ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले घटनाका दोषीलाई सरकारले कारबाही गर्न नचाहेको र प्रहरीले किटानी जाहेरीसमेत नलिएको भन्दै तत्काल कारबाहीका लागि माग गरेका थिए ।
गृहमन्त्री थापाले दुई पटकसम्म घटनाबारे सरकारको धारणा राखेका थिए । तर गृहमन्त्रीको भनाइ चित्त नबुझेको भन्दै कांग्रेस सांसदले उठेर विरोध गरिरहेपछि सभामुख कृष्णबहादुर महराले दश मिनेटका लागि संसद स्थगित गरेका हुन् ।
बाँके घटनाका सम्बन्धमा गृहमन्त्री थापाले तथ्य तोडमोड गरेको र अपराधीको नाम लुकाउन खोजेको आरोप कांग्रस सांसदहरुले लगाए । कांग्रेस सांसद गगन थापाले सरकारले वास्तविक अपराधी नेकपाका कार्यकर्ता रहेको र तिनलाई कारवाही हुनेमा आश्वस्त नपारेसम्म संंसद् चल्न नदिने बताए ।
कांग्रेस सांसदहरुले पञ्चायतमा सरकार कमजोर हुँदा मण्डले परिचालन गरेजस्तै अहिले नेकपाको सरकार कमजोर भएपछि अरिंगाल परिचालन गरेको आरोप लगाए । किटानी जाहेरी दिएका व्यक्तिको नाम नआएको भन्दै कांग्रेसले वास्तविक अपराधी लुकाउन खोजेको भन्दै गृहमन्त्रीको प्रष्टीकरणमा आपत्ति जनाएका हुन् । कांग्रेस सांसद सञ्जय गौतमले घटना प्रायोजित भएको बताए ।
कांग्रेस सचेतक पुष्पा भुषालले कांग्रेसको राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेका पार्टी सभापतिमाथि आक्रमण भएको विषयलाई गृहमन्त्रीले सामान्य भनेकोमा आपत्ति जनाइन् । उनले किटानी जाहेरी तत्काल दर्ता गर्न निर्देशन नदिएसम्म संसद अगाडि बढ्न नसक्ने बताइन् ।
गत बिहीबार बाँकेको खजुरामा कांग्रेसको जागरण कार्यक्रममा आक्रमण हुँदा बाँके जिल्ला सभापति किरण कोइरालाको हात भाँच्चिएको थियो । इमेजखबरमा समाचार छ ।