सिन्धुपाल्चोक दुर्घटनाका ११ जना मृतक परिवारलाई गाउँपालिकाले २५ हजार दिने

news
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० स्थित बडहरेबाट काठमाडौंका लागि छुटेको हेलम्बु यातायातको बस दुर्घटनामा मृत्यु भएकाका परिवारलाई इन्द्रावती गाउँपालिकाले जनही रु २५ हजार रकम दिने भएको छ ।
दसैं मनाउन गाउँ गएका यात्री राजधानी फर्कनेक्रममा भएको सो बस दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।
बा२ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालककोसमेत मृत्यु भएको थियो ।
केही घाइतेको अवस्था गम्भीर रहेको र मृतकको संख्या बढ्नसक्ने बताइएको छ ।
बसमा ८० जनाभन्दा धेरै यात्री चढेका थिए । ‘ओभरलोड’कै कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
बस दुर्घटनाको उद्धारका लागि खट्ने स्थानीयवासी, प्रहरीलगायत सबैमा गाउँपालिकाले धन्यवाद दिएको छ ।
इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले घाइतेको उपचारका लागि आफ्नोतर्फबाट सकेसम्मको सहयोग गर्ने र कुनै कमी हुन नदिने बताए । रासस