देशका केही स्थानमा हाल मौसम बदली रहेको छ ।
अहिले प्रदेश नम्बर–१, २, ३ र गन्डकी प्रदेशका थोरै स्थानमा मौसम सामान्यदेखि पूर्ण बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अरब सागरमा बनेको ‘क्यार’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा पनि परेको हो ।
साथै, बंगालमा विकसित भएको न्यूनचापीय प्रणाली पनि त्यसमा मिसिएको महाशाखाले जनाएको छ ।
जसको प्रभावले नेपालमा हल्का वर्षा र हल्का हिमपातको सम्भावना रहेको मौसमविद् मन्जु बासीले जानकारी दिइन् ।
‘प्रदेश–१, २, ३ र गन्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । वर्षा भइहालेपनि धेरैबेर हुँदैन । क्षणिक वर्षाको मात्रै सम्भावना देखिन्छ’–उनले इमेजखबरसित भनिन्–‘ठूलो वर्षाको भने सम्भावना छैन ।’
उनकाअनुसार प्रदेश नम्बर–१, ३ र गन्डकी प्रदेशका उच्च हिमाली भू–भागहरुमा शुक्रबार हल्का हिमपातको सम्भावनासमेत रहेको छ ।
देशका बाँकी भू–भागहरुमा मौसम सामन्यतया सफा रहेको महाशाखाले जनाएको छ । रासस