नवलपुरमा चिकित्सकको परामर्श बिनै औषधि सेवन गर्नेहरुको संख्या बढ्दै

news
नवलपुरमा चिकित्सकको परामर्श बिनै औषधि सेवन गर्नेहरुको संख्या बढ्दै गइरहेको छ । गत वर्षको तुलनामा आफूखुसी औषधि प्रयोग गर्नेको संख्या दोब्बरले बढेको हो ।
नवलपुरको मध्यविन्दु जिल्ला अस्पतालले तथ्यांकअनुसार सामान्य रुघा, खोकी अथवा टाउको दुख्दा पनि जथाभावी रुपमा औषधि प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको छ ।
त्यसमा पनि एन्टीबायोटिक औषधि चलाउने धेरै मात्रामा पाइएको छ । जिल्ला अस्पतालका मेडिलकल सुपरिटेण्डेन्ट डा.सुनिलराज गौतमका अनुसार औषधि बिक्री वितरणमा नियमन गर्न नसक्दा बिरामीले मनपरी औषधि प्रयोग गर्न थालेका छन् ।
सर्वसुलभ तरिकाले पाउने भएकाले सामान्य समस्यामा पनि एन्टीबायोटिकको प्रयोग बढ्दै गएको र धेरै सेवन गरे त्यसले भविष्यमा ठूलो समस्या निम्त्याउने डा.गौतमको भनाइ छ ।
चिकित्सकको सल्लाह बिना एन्टीबायोटिक औषधीहरु प्रयोग गर्दा यसले मानव शरीरमा प्रत्यक्ष र दीर्घकालीन असर पर्छन् ।
पछिल्लो समय एन्टीबायोटिकको बढ्दो प्रयोगले समस्या निम्तिएका बिरामीहरु अस्पतालमा धेरै आउन थालेको डा. गौतम बताउँछन् ।
यता औषधि व्यवसायी पनि आफूखुसी औषधि किन्न आउनेको संख्या बढ्दै गइरहेको बताउँछन् ।
औषधिको नमुना हेरी औषधि दिने गरेको भए कतिपयले जथाभावी औषधि खरिद गर्दा आफूहरुले औषधि विरणमा कडाइ गरेको औषधि बिक्रेताको भनाइ छ । इमेजखबरमा समाचार छ ।