धनुषामा बम विस्फोट हुँदा घाइते भएका तीनैजनाको शल्यक्रिया गरिएको छ ।
शनिबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनीहरुको शल्यक्रिया गरिएको हो ।
शुक्रबार राति धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरबजारका राजेश साहको घरमा राखिएको बम विस्फोट भएको थियो ।
विस्फोटबाट गम्भीर घाइते भएका प्रहरीजवान रिजन महतो, राजेशकी २१ वर्षीया छोरी अञ्जलीकुमारी साह र कान्छा छोरा १४ वर्षीय प्रेमकुमार साहको शल्यक्रिया गरिएको हो ।
घाइतेमध्ये प्रहरीजवान महतोको अवस्था चिन्ताजनक र अञ्जली तथा प्रेमकुमारको अवस्था खतरामुक्त रहेको बीपी प्रतिष्ठानका सहायक प्रवक्ता अशोक ऐरले जानकारी दिए ।
बम विस्फोटका घाइते तीनैजनाको टाउकोदेखि पैतालासम्म नै गम्भीर प्रकृतिको चोट लागेको जनाइएको छ ।
उनीहरुको शरीरका विभिन्न भागमा बमको छर्रा लागेको हो ।
प्रहरीजवान महतोको छाती र अञ्जली तथा प्रेमकुमारको खुट्टाको शल्यक्रिया गरिएको प्रहरीले जनाएको छ ।
शरीरका विभिन्न भागमा गम्भीर चोट लागेकाले केही दिन अस्पतालमै राखेर उपचार गर्नुपर्ने बताइएको छ ।
सो बम विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ ।
विस्फोटमा घरमुली ४६ वर्षीय राजेश र उनका २४ वर्षीय छोरा आनन्द साहको घटनास्थलमै मृत्यु भएको थियो ।
विस्फोटमा परी गम्भीर घाइते भएका प्रहरी निरीक्षक अमिरकुमार दाहालको पनि उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
बम राख्नेको पहिचान भइसकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । इमेजखबरमा समाचार छ ।