भारतमा विवादास्पद नागरिकता कानुनको विरोधमा बिहीबार पनि देशभर प्रदर्शन भएको छ ।
प्रहरीले कानुनको विरोध गर्न प्रतिबन्ध लगाएपनि राजधानी नयाँदिल्लीसहित ठाउँ–ठाउँमा प्रदर्शन भएको हो ।
केही स्थानमा प्रदर्शन हिंसात्मक भएको छ । प्रतिबन्धको आदेशविपरीत प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कानुनको विरोधमा रहेका नागरिक समाज, राजनीतिक दल, विद्यार्थीहरुले शान्तिपूर्वक विरोधमा सहभागी हुन आग्रह गरेका छन् ।
दिल्ली, उत्तर प्रदेश र कर्नाटकका केही स्थानमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको हो । तर, उक्त विधेयक संशोधन नभएसम्म प्रदर्शन नरोकिने प्रदर्शनकारीको अडान छ ।
नागरिकता विधेयकमा सीमा जोडिएका अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट धार्मिकरुपमा प्रताडित भएर भारतमा शरण लिँदै आएका हिन्दु, बौद्ध, शिख, जैन, फारसी र क्रिस्चियनलाई भारतको नागरिकता दिने उल्लेख छ ।
विपक्षी दलहरुले मुस्लिम समुदायलाई सरकारले भेदभाव गरेको भनेर विरोध गर्दै आएका छन् ।
उनीहरुले यो विधेयक भारतीय संविधानको धारा १४ को समानताको हकसम्बन्धी व्यवस्थाविपरीत भएको तर्क गरेका छन् । (एजेन्सी)