चार वर्षमा पुनःनिर्माणको ८३ प्रतिशत काम सम्पन्न

news
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले स्थापनाकालको चार वर्षमा पुनःनिर्माणको ८३ प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।
प्राधिकरणले चार वर्षको अवधिमा विभिन्न ६ ओटा क्षेत्रमा ६९ प्रतिशत काम सम्पन्न गरेको छ भने १४ प्रतिशत पुनःनिर्माणको क्रममा रहेको बिहीबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
यस अवधिमा पुनःनिर्माण सम्पन्न भएका र बन्दै गरेकासहित निजी आवास पुनःनिर्माणमा ८६ प्रतिशत प्रगति हासिल गरेको प्राधिकरणले जनाएको हो । 
यस अवधिमा निजी आवास ६१ प्रतिशत निर्माण सम्पन्न भइसकेको छ भने २४ प्रतिशत निर्माणाधीन अवस्थामा रहेका छन् ।
साथै, सार्वजनिक भवनको ७४ प्रतिशत पुनःनिर्माणको काम सम्पन्न भइसकेको प्राधिकरणले जनाएको छ ।
यस अवधिमा ५५ प्रतिशत स्वास्थ्य संस्था, ४२.६ प्रतिशत साँस्कृतिक सम्पदा, ७१ प्रतिशत शैक्षिक संस्था तथा ४७ प्रतिशत सुरक्षा निकाय भवन पुनःनिर्माण सम्पन्न भइसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जानकारी दिए ।
कुल सात लाख ६८ हजार ५७९ अनुदान सम्झौता भएकामध्ये ९८.९ प्रतिशतले पहिलो किस्ता रकम लिएका छन् भने ७९.५ प्रतिशतले दोस्रो किस्ता तथा ६७.२ प्रतिशतले तेस्रो किस्ता पाइसकेका छन् ।
प्राधिकरणले चार वर्षको अवधिमा प्राप्त उपलब्धिलाई गौरवका साथ प्रस्तुत गर्ने स्थानमा पुगेको प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले बताए ।
यस अवधिमा विभिन्न दातृसंस्था तथा सरकारी निकायबाट दुई खर्ब ९३ अर्ब र गैरसरकारी संस्थाबाट ४२ अर्ब गरी तीन खर्ब ३५ अर्ब रुपैयाँ खर्च भएको प्राधिकरणले जनाएको छ ।
यस अवधिमा पुरातात्विक साँस्कृतिक सम्पदा बनाउन आवश्यक सामग्रीहरु नपाइने तथा निर्माण शैलीको कारण पनि साँस्कृतिक सम्पदा निर्माणमा समय लागेको ज्ञवालीले बताए ।
सहरी क्षेत्रमा भने जग्गा तथा मापदन्डको कारण पनि बस्ती निर्माणमा समस्या सिर्जना भएको प्राधिकरणले जनाएको छ । रासस