सरकारले उखुको खरिद मूल्य तोक्यो

news
सरकारले उखुको खरिद मूल्य तोकेको छ ।
मन्त्रिपरिषद्को गएको सोमबार (पुस ७ गते) बसेको बैठकले चालू आर्थिक वर्षका लागि उखुको खरिद मूल्य तोकेको हो ।
बैठकले उखुको न्यूनतम् लागत, ढुवानी, मुनाफा र अनुदानसमेत गरी चालू आर्थिक वर्ष २०७६/७७ को खरिद मूल्य प्रतिक्विन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गर्न स्वीकृति प्रदान गरेको सन्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए ।
बिहीबार सन्चार मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता बाँस्कोटाले सो मन्त्रिपरिषद् बैठकले गरेका विभिन्न १३ ओटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।
जसअनुसार सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ ।
बैठकले हातहतियार, खरखजानासम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
यस्तै, साइप्रसको निकोसियामा कार्यरत् अवैतनिक नेपाली वाणिज्यदूत रामजीवन पन्जियारको कार्यकाल निर्णय भएको मितिले चार वर्ष थप गरिएको छ ।
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा डा. चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा किशोरविक्रम मल्ल, डा. हरिहर वस्ती, डा. सन्ध्या चापागाइँ, डा. सुप्रभात श्रेष्ठ र डा. प्रनित पोखरेल तथा रजिष्ट्रार पदमा डा. कृष्णप्रसाद अधिकारीलाई मनोनयन गर्ने निर्णय पनि गरिएको मन्त्री बाँस्कोटाले जानकारी दिए ।
मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु पढ्नोस्
२०७६ पुस ७ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेका प्रमुख निर्णय– 
१. सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ । 
२. सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा वित्तीय संस्था तथा गैरवित्तीय व्यवसाय तथा पेशाकर्मीको क्षेत्रमा नियमनकारी निकाय तोकिएको नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७५/७/२५ को निर्णयसम्बन्धी सूचना सोही मितिमा नेपाल राजपत्रको अतिरिक्ताङ्क प्रकाशन गर्ने निर्णय गरिएको छ ।
३. साना विकास आयोजना कार्यान्वयनका लागि नेपाल तथा भारत सरकारबीच भएको सम्झौता कार्यान्वयनका लागि कार्यान्वयन गर्ने निकाय र ढाँचा तोक्ने निर्णय गरिएको छ ।
४. Building a Resilient Churia Region of Nepal परियोजनाका लागि Green Climate Fund बाट प्राप्त हुने ३९.३ मिलियन अमेरिकी डलर (४ अर्व ४६ करोड बराबर) अनुदान सहायता प्राप्तिका लागि Accredited Entity (FAO)सँग वार्ता गर्न अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गर्ने निर्णय गरिएको छ ।
५. खयरबाट उत्पादन हुने बस्तुको सम्बन्धमा मिति २०७६/३/२ को नेपाल राजपत्रमा प्रकाशित निकासी पैठारी सम्बन्धी सूचित आदेशमा संशोधन गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय गरिएको छ ।
६. उखुको न्यूनतम लागत, ढुवानी, मुनाफा र अनुदान समेत गरी चालु आर्थिक वर्ष २०७६/७७ को खरिद मूल्य प्रति क्विन्टल रु.५३६.५६ निर्धारण गर्न स्वीकृति प्रदान गरिएको छ ।
७. हातहतियार खरखजाना सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकिकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ ।
८. साईप्रसको निकोसियामा कार्यरत अवैतनिक नेपाली वाणिज्यदूत श्री रामजीवन पन्जियारको कार्यकाल निर्णय भएको मितिले चार वर्ष थप गरिएको छ । 
९. हेटौंडा उपमहानगरपालिका, मकवानपुरको स्वामित्वमा रहेको साविक पदमपोखरी–२ हाल हेटौंडा उपमहानगरपालिका वडा नं. १३ कित्ता नं. १०२ क्षेत्रफल ९.१ कठ्ठा जग्गा प्रहरी चौकी पदमपोखरीको नाममा स्वामित्व हस्तान्तरण गर्न स्वीकृति दिइएको छ ।
१०. सुरक्षण मुद्रण सम्बन्धी उपकरणहरू (प्रेस सम्बन्धी मेशिन, औजार, प्रविधि, प्रणाली तथा अन्य आवश्यक सामग्री र भौतिक निर्माण लगायत) सरकार–सरकार (जि टु जि) माध्यमबाट खरिद गर्ने सम्बन्धमा फ्रान्स सरकार र जर्मन सरकारका तर्फबाट प्राप्त प्रस्तावमध्ये सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले उपयुक्त प्रस्ताव स्वीकृत गरी सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम (५ख) बमोजिम सरकार–सरकार विधिबाट खरिद गर्ने निर्णय गरिएको छ । यसको बजेट व्यवस्था अर्थ मन्त्रालयले गर्नेछ ।
११. शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक पदमा झापा निवासी श्री डा. चन्द्रमणि अधिकारीलाई चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरिएको छ ।
१२. नेपाल मेडिकल काउन्सिलका रिक्त सदस्य पदमा किशोरविक्रम मल्ल, चापाकोट–६, स्याङ्जा; डा. हरिहर वस्ती, का.म.न.पा.–३१, काठमाडौं; डा. सन्ध्या चापागाई, मध्यपुर ठिमी, भक्तपुर;  डा. सुप्रभात श्रेष्ठ, मोरङ; डा. प्रनित पोखरेल, काठमाडौं  र रजिष्ट्रार पदमा डा. कृष्ण प्रसाद अधिकारी, धुम्बाराही, काठमाडौंलाई मनोनयन गर्ने निर्णय गरिएको छ ।
१३. राष्ट्रिय किताबखानामा अद्यावधिक व्यक्तिगत विवरण (पिआइएस) अनुसार कायम भएको पदनामअनुसार समायोजन पत्र दिन स्वीकृति दिइएको छ । इमेजखबरमा समाचार छ ।