सुनसरीको धरान भानुचोक क्षेत्रबाट ३१ बालबालिकाहरुको उद्धार

news
सुनसरीको धरान उपमहानगरपालिकाको भानुचोक क्षेत्रबाट शुक्रबार राति ३१ बालबालिकाहरुको उद्धार गरिएको छ ।
घर–परिवारबाट अपहेलित भएर सडकमा कस्टकर जीवन बिताइरहेका ३१ बालबालिकाहरुको उद्धार गरिएको हो ।
सरकारले सुरु गरेको सडक बालबालिका, बेवारिसे वृद्धवृद्धा तथा अशक्तहरुको संरक्षण अभियानअन्र्तगत् ३१ बालबालिकाको उद्धार गरिएको हो ।
सडक बालबालिकाको उद्धारका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, प्रदेश नम्बर–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, सचिव चन्द्र घिमिरेसहित बालबालिका खोजतलास समन्वय केन्द्रका कर्मचारी र नेपाल प्रहरीको टोली धरान आएको थियो ।
बालबालिका उद्धार गर्न आएको मन्त्री गुरुङसहितको टोलीले सुरुमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईसहितका जनप्रतिनिधिहरुसँग छलफल गरी भानुचोकको सडकमा बसेका बालबालिका र अशक्त व्यक्तिहरुलाई भेला गरी उद्धार गरेको हो ।
धरानबाट उद्धार गरिएका ३१ बालबालिकालाई इटहरीस्थित सेभ द चिल्ड्रेन हाउसमा राखिएको बालबालिका खोजतलास समन्वय केन्द्र काठमाडौंका अधिकृत सन्तोषचन्द्र अधिकारीले जानकारी दिए ।
सडकबाट उद्धार गरिएका बालबालिकालाई केही दिन इटहरीमै राखेर ‘काउन्सिलिङ’ गरी काठमाडौं लगेर सुधारगृहमा राखी उनीहरु पूर्णरुपमा ठीक भइसकेपछि परिवारको जिम्मा लगाइने बताइएको छ । इमेजखबरमा समाचार छ ।