कोशीटप्पु वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ मानिने नयाँ प्रजातिको चरा फेला

काठमाडौं । कोशीटप्पु वन्यजन्तु आरक्षमा विश्वमै दुर्लभ मानिने एक नयाँ प्रजातिको चरा फेला परेको छ ।
चराको नाम ‘सेतो पेटे रानी चरी’ जुराइएको छ । कोसीटप्पु बर्ड वाचिङ क्याम्पका सञ्चालक कुरबान मन्सुरीका अनुसार ‘सेतो पेटे रानी चरी’ चराको दुर्लभ प्रजाति हो ।
यसको टाउको वरपर खैरो, पेट सेतो र पछाडिको भाग कालो छ । यसको अंग्रेजी नाम Swinhoe Minivet हो । कोशीटप्पु वर्ड वाचिङ क्याम्पका सञ्चालक एवं फोटोग्राफर संजय था श्रेष्ठले उक्त चराको फोटो खिचेका हुन् ।
news
श्रेष्ठले माघ ९ गते उक्त चरा देखेर तस्बिर खिचेका थिए । उक्त चरा नयाँ प्रजातिको हुन सक्ने अनुमानपछि प्रमाणीकरणका लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग काठमाडौं पठाइएको थियो ।
श्रेष्ठले खिचेको चरा नेपालका लागि नयाँ भनेर विभागले प्रमाणित गरेको हो । चरा विज्ञहरूले प्रमाणित गरेपछि विश्वमै दुर्लभ मानिएको चरा कोशीटप्पुमा पाईएको बताइएको हो ।
पक्षी संरक्षण संघले उक्त चरा कोसीटप्पुको नयाँ पाहुना भएको यकिन गरेको हो । योसँगै कोशी टप्पुमा पाइने चरा प्रजातिको संख्या ५ सय २७ पुगेको छ ।
कोसीटप्पुमा हरेक वर्ष चरा गणना हुँदै आएको छ । यस वर्ष २५–२९ पुसमा पनि गणना गरिएको थियो । त्यसक्रममा उक्त नयाँ प्रजाति भेटिएको थिएन ।
आरक्षका वार्डेन रामदेव चौधरीका अनुसार चीन, रुस, पाकिस्तान, बंगलादेश, भारत र भुटानबाट कोसीटप्पुमा चरा आउने गर्छन् ।
नेपालमा पाइने आठ सय ८६ प्रजातिमध्ये ५९ प्रतिशत चरा कोसीटप्पुमा पाइन्छन् । इमेजखबरमा समाचार छ ।