कञ्चनपुर । भारतमा कोरोना भाइरसको संक्रमण देखिएसँगै नेपालमा यसको जोखिम नियन्त्रणका प्रयासहरु भैरहेका छन् ।
भारतसँग खुल्ला सीमाना भएका कारण त्यसको संक्रमण नेपालमा भित्रिने जोखिम बढेपछि विभिन्न नाकामा चेकजाँच सुरु भएको हो ।
पश्चिमी नाका गड्डाचौकीबाट भारतको राजधानी दिल्लीसँग सबैभन्दा छोटो दुरीमा पुग्न सकिन्छ ।
यस नाका हुदै काठमाण्डौं, पोखरा, विराटनगर, महेन्द्रनगरलगायतका जिल्लाबाट नेपाल–भारत मैत्री बसहरु सञ्चालन हुने गरेका छन् ।
जसका कारण भारतको नयाँदिल्लीमा देखा परेको कोरोना नेपालमा पनि भित्रिने त्रास बढेको हो ।
कञ्चनपुरलाई संक्रमणको उच्च जोखिम रहेको क्षेत्रको रुपमा हेरिएपछि केही दिनयता गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा कोरोनाको चेकजाँचको काम सुरु गरिएको छ ।
जिमुवा स्वास्थ्य चौकीका कर्मचारी सुदर्शनदेव भट्टका अनुसार अहिले दैनिक एक हजारभन्दा बढीको स्वास्थ्य परीक्षण गरिएको छ ।
अर्कोतिर सीमानाकामा निःशुल्क स्वास्थ्य परिक्षण हुन थालृपछि यात्रुहरु पनि खुसी भएका छन् ।
महामारी भित्रिन नदिन सीमानाकामा चेकजाँज गर्नु सही भएको उनीहरुको प्रतिक्रिया छ ।
उता, विश्व स्वास्थ्य संगठनको टोलीले समेत गड्डाचौकी नाकाको अनुगमन गरी खुला रुपमा हुने आवागमनलाई मध्यनजर गर्दै चेकजाँचमा कडाइ गर्न जिल्ला प्रशासन र स्वास्थ्य कार्यालयलाई सुझाव दिएको छ ।
साथै, पूर्णागिरीमा मेला सुरु भएसँगै भित्रिने भारतीय पर्यटकलाई लक्षित गरी ब्रह्मदेव, महाकाली नगरपालिकास्थित सीमानाका र दक्षिणी क्षेत्रका नाकामा समेत हेल्थ डेस्क स्थापना गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनार बताउँछन् ।
यता, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि प्रसाद खतिवडाले यहीँ मौकामा कालोबजारी गर्नेको सक्रियता बढ्ने भएकाले आफूहरु सचेत भइरहेको दाबी गर्छन् ।
महामारी निम्तिन नदिनका लागि आम नागरिकमा सचेतना र अन्य तयारीलाई समेत थप सशक्त पार्नुपर्ने देखिन्छ । इमेजखबरमा समाचार छ ।