प्रतिनिधिसभाको बैठक पुनः एक साताको लागि स्थगित

news
संघीय संसद प्रतिनिधिसभाको बैठक पुनः एक साताको लागि स्थगित गरिएको छ ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बिहीबार अपराह्न बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले चैत १३ गतेसम्मको लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
विश्वव्यापी फैलिँदै गएको ‘कोरोनाभाइरस’ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले २५ जनाभन्दा बढी मानिस भेला नहुन दिएको निर्देशन र सांसदहरुको मागलाई मध्यनजर गरी बैठक स्थगित गरिएको जनाइएको छ ।
यसअघि, प्रतिनिधिसभाको बैठक फागुन २९ गते बसेको थियो ।
तर, सांसदहरुको मागअनुसार सभामुख अग्निप्रसाद सापकोटाले चैत ७ गते अर्थात् शुक्रबार बस्ने गरी बैठक स्थगित गरेका थिए ।
तर, कारोना संक्रमणको सम्भावित जोखिम नियन्त्रणका लागि सरकारले जारी गरेको निर्देशन र कारोना संक्रमणको त्रासका कारण शुक्रबार बस्ने भनिएको बैठक पनि स्थगित गरिएको हो ।
समितिमा आगामी तय गरिएको बैठक पनि बस्ने अवस्था नरहे पुनः सूचना निकालेर बैठक स्थगित गर्ने सहमति भएको छ ।
उता, राष्ट्रियसभाको बैठक भने स्थगित भएको छैन । बिहीबार राष्ट्रियसभाको बैठक बस्यो भने अर्को बैठक शुक्रबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ । इमेजखबरमा समाचार छ ।