कोरोना भाइरसका कारण उपत्यका छाड्ने यात्रुको सङ्ख्यामा वुद्धि भएको छ ।
ट्राफिक प्रहरी महाशाखाका अनुसार केही दिनयता काठमाडौँ भित्रिने भन्दा बाहिरिने यात्रुको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्गलबारदेखि बिहीबारसम्म तीन दिनमा झण्डै तीन लाखले उपत्यका छाडेका छन् ।
महाशाखाले तीन दिनमा दुई लाख ९५ हजार ५ सय २१ जनाले उपत्यका छाडेका जनाएको छ । महाशाखाका अनुसार सरकारले स्कुल/कलेज बन्द तथा बढी भिडभाड हुने स्थानमा २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएसगैँ उपत्यका छाड्नेको सङ्ख्यामा वृद्धि भएको हो ।
सबैभन्दा धेरै बिहीबार एकैदिन काठमाडौं उपत्यकाबाट एक लाख ८ हजार ४ सय ५८ मानिस विभिन्न नाकाबाट १८ हजार ५ सय ५४ वटा सवारी साधनबाट बाहिरिएका छन् ।
बुधबारको तुलनामा बिहीबार भने उपत्यका भित्रिने यात्रुको सङ्ख्यामा केही कमी आएको छ । बिहीबार ८३ हजार १ सय ३९ मानिससँगै १५ हजार १ सय ४० सवारी साधन भित्रिएका थिए ।
ट्राफिक प्रहरीका अनुसार बुधबार ९५ हजार २ सय ४७ जनाले काठमाडौं छाडे भने विभिन्न जिल्लाबाट ९८ हजार ९ सय ३४ जना प्रवेश गरेका छन् ।
त्यस्तै मङ्गलबार ९१ हजार ८ सय १६ जनाले काठमाडौं छाड्दा ९० हजार २ सय ३० जना प्रवेश गरेका थिए । केही दिनअघिसम्म काठमाडौं छाड्नेभन्दा काठमाडौं भित्रिनेको सङ्ख्या बढी हुने गरे पनि पछिल्ला दिन कोरोनाको बढ्दो त्रासका कारण काठमाडौं छाड्नेको सङ्ख्या बढी देखिएको छ ।
बुधबार बसेको कोभिड–१८ को सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सिनेमाहल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलस्थल, जिम, हेल्थ क्लब, म्युजियम स्विमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलगायत बढी भिडभाड हुने क्षेत्रलाई बैशाख १८ गतेसम्म बन्द गर्ने निर्णय गरेको थियो । रासस