कोरोना त्रासः भारतबाट नेपाल भित्रने नाकाहरुमा थामी नस्कनु भीड
चैत्र ८ गते, २०७६ मा प्रकाशित
विश्वव्यापीरुपमा फैलिँदै गएको ‘कोरोनाभाइरस’को त्रासको प्रभाव पश्चिमी सीमानाका गड्डाचौकीमा पनि परेको छ ।
भारतमा कोरोनाको संक्रमण बढ्दै गएपछि अध्ययन तथा कामका लागि भारतका विभिन्न सहरमा रहेका नेपालीहरु यतिबेला धमाधम नेपाल फर्कन थालेका छन् ।
नाकामा नेपालीसँगै भारतीय नागरिकको पनि चाप बढ्दै गएपछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता अपनाउन थालेको छ ।
पछिल्लो एक सातायता गड्डाचौकी सीमानाकामा अन्य नाकाहरुभन्दा निकै भीडभाड देखिन्छ ।
भारतमा कोरोनाभाइरसको संक्रमण बढेसँगै सीमानाका बन्द हुने डरले त्यहाँ रहेका नेपालीहरु धमाधम नेपाल फर्कन थालेका छन् ।
नेपालीहरुमात्रै होइन, यस नाकाबाट भारतीय नागरिकहरुसमेत नेपाल भित्रिने गरेका छन् । जसले गर्दा एकातिर संक्रमणको जोखिम बढेको छ भने अर्कातिर अत्याधिक चापले गर्दा स्वास्थ्य परीक्षणमा समेत समस्या देखिएको छ ।
त्यतिमात्रै होइन, कोरोनाभाइरसको महामारी रोकथामका लागि भारतले नेपालसँग नाका जोडिएका वनबासा, सुनौली, रक्सौल र रानीगन्जबाहेक अन्य नाका बन्द गरेको छ ।
त्यस्तै, ३१ मार्चसम्मका लागि विद्यालय, कलेज तथा कलकारखाना बन्द गरेपछि गड्डाचौकी नाकामा नेपाल फर्कने नेपालीहरुको चाप बढेको हो ।
यस नाकाबाट दैनिक पाँच हजारको संख्यामा नेपाली तथा भारतीयहरु नेपाल भित्रिएको गड्डाचौकी ‘हेल्थ डेस्क’को तथ्यांकमा उल्लेख छ ।
यसरी भारतबाट फर्कनेहरुमा अध्ययन तथा र मजदूरीका लागि भारत गएका नेपाली धेरै रहेको महाकाली अस्पतालका सिनियर अहेव गौरीदत्त जोशीले बताए ।
भारतलगायत विश्वभरि नै कोरोनाको संक्रमण बढ्दै गएपनि नेपालमा भने हालसम्म एकजनामा मात्रै यसको संक्रमण देखिएको थियो । जसले गर्दा भारतमा रहेका नेपालीहरु कामै छोडेर परिवारसहित नेपाल फर्कन थालेका हुन् ।
यता, कोरोनाका कारण कलेजहरु पनि बन्द भएको र नेपालमाभन्दा भारतमा यसको संक्रमण बढी रहेकाले आफूहरु नेपाल फर्किएको देहरादूनमा अध्ययनरत् विद्यार्थी निर्मला रोकायाले बताइन् ।
कोरोनाको संक्रमण नफैलियोस् र कसैमा यसको संक्रमण भेटिए त्यसको उपचारका लागि आवश्यक सबै तयारीहरु गरिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।
यता, नाकामा नेपालीसँगै भारतीय नागरिकको पनि चाप बढ्दै गएपछि स्थानीय प्रशासनले उच्च सतर्कता अपनाउनुका साथै नाकामा समेत कडाइ गरेको छ ।
यसअघि, महेन्द्रनगरबाट भारतका विभिन्न सहरहरुमा सञ्चालन हुने मैत्री बस सेवा स्थगित गरिएकोमा शुक्रबारबाट भारतीय नम्बरप्लेटका सवारी–साधन र भारतीय नागरिकको आवागमनमा समेत रोक लगाएइएको छ ।
यस्तै, जिल्ला प्रशासन कार्यालयले स्थानीय तह र स्वास्थ्य कार्यालयको सहयोगमा जिल्लाका सबै नाकाहरुमा हेल्थ डेस्क स्थापना गरी चेकजाँचका काम गरिरहेको छ भने महाकाली अस्पतालमा ६ बेडको ‘आइसोलेसन वार्ड’ र ‘क्वारेन्टाइन’का लागि १०० शय्यासम्मको भवन छनोट गरी आवश्यक तयारी गरिरहेको छ । इमेजखबरमा समाचार छ ।