भारतबाट आज नेपाल फर्कने सबैलाई क्वारेन्टाइनमा पठाइँदै

news
कोरोनाको संक्रमण बढ्ने जोखिमले भारत र चीनसँगको सीमा नाका बन्द गरिएको छ ।
भारतसँग सिमा जोडिएको नेपालतर्फको विराटनगरको रानीनाका एक साताका लागि शिल गरिएको छ । भारततर्फ छिर्ने प्रवेशद्धारको मुल गेट बन्द गरिएको छ ।
मानिसको आवागमनमा रोक लगाइएको छ । कञ्चनपुरमा लकडाउनपछि पश्चिमी सिमानाका गड्डाचौकीसँगै महेन्द्रनगर जिल्लाका मुख्य बजार सुनसान बनेको छ ।
जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि आकस्मिक उपचारबाहेक घर बाहिर निस्कन प्रतिबन्ध लगाएपछि नाकासँगै कञ्चनपुरका मुख्य बजार सुनसान बनेको हो ।
कञ्चनपुरको गड्डा चौकी भने आइतबारदेखि बन्द गरिने छ । यो नाकाबाट अहिले नेपालीहरु धमाधम फर्किइरहेका छन् । कोरोना भाइरसको संक्रमण न्यूनिकरणका लागि पर्वतमा पनि सोमबारबाटै सबैजसो सेवा बन्द गर्ने निर्णय गरिएको छ ।
जिल्लामा संचालन हुने लामो तथा छोटो दुरीका सवारीसाधनहरु पूर्णरुपमा रुपमा बन्द गरिएको छ । अति आवश्यक दैनिक उपभोग्य बस्तुका पसलहरु भने खुल्ला रहने छन् ।
त्यस्तै कैलालीको कृष्णनगरमा नेपालबाट भारत जान खोज्ने भारतीय नागरिकहरुलाई भने जान दिइएको छ । नेपालीलाई प्रवेशमा पूर्ण रोक लगाइएको छ ।
सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । धनगढी र अत्तरियामा अत्यावश्यक बाहेकका सबै व्यवसाय सोमबारदेखि बन्द गरिएको छ ।
कोरोना भाईरसको संक्रमण फैलिन नदिन कैलाली उद्योग वाणिज्य संघले धनगढीमा अत्यावश्यक बाहेकका सबै व्यवसाय बन्द गरिएको जनाएको छ ।
नेपालगंजको जमुनाहा नाका हिजो विहानदेखि शिल गरिएको छ । नाकामा नेपाली तथा भारतीय सुरक्षाकर्मीहरु तैनाथ छन् । आइतबारदेखि नाकामा आएर बसेका नेपालीलाई भने भित्रन दिइएको छ ।
नाकाबाट भित्रिएकाहरुलाई क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । अर्घखाँचीमा सोमबार राति १२ बजेदेखि जिल्ला लक डाउन हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सोमबार सर्वपक्षीय बैठक गरी अर्को सूचना नआएसम्म जिल्ला लक डाउन गर्ने निर्णय गरेको हो । जिल्लाको सिमावर्ती क्षेत्रमा हेल्थ डेस्क स्थापना गरिने भएको छ । इमेजखबरमा समाचार छ ।