मुलुकभर लकडाउन’, बाहिर निस्कन प्रतिबन्ध, सवारी साधन बन्द, आन्तरिक हवाई उडान पनि बन्द

सरकारले मंगलबारदेखि लागू हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन बन्द गर्ने निर्णय पनि गरेको छ। योसँगै नेपालका ७७ वटै जिल्लामा मंगलबारदेखि एक साताका लागि पूर्णतया: लकडाउन हुने भएको छ। सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि यो व्यवस्था गरेको हो।
केहीबेर अघि सकिएको उच्चस्तरीय समन्वयन समितिको बैठकले ११ गते बिहान ६ बजेदेखि १८ गते बिहान ६ बजेसम्म घरबाट बाहिर ननिस्कन नदिने निर्णय गरेको हो।
औषधिउपचार, खानेपानीजस्ता अत्यावश्यकबाहेक सबै कार्यालयका कर्मचारीहरुलाई सोमबारदेखि कार्यालय नआउन पनि सरकारले निर्देशन दिएको छ।
आन्तरिक हवाई उडान पनि सरकारले चैत १८ गतेसम्म बन्द गरेको छ।
संक्रामक रोग ऐन २०२० अनुसार सरकारको उच्चस्तरीय समितिले निर्देशन दिएअनुसार आदेशको पालना गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलले सोमबार साँझ जानकारी दिएका छन्। काठमाडौँमा कोरोना संक्रमणको बिरामी भेटिएपछि सरकारले मानिसहरुको आवत जावतमै प्रतिबन्ध लगाउने निर्णय गरेको हो। निर्णयको पालना भए नभएको अनुगमन गर्न समितिले सिडिओलाई निर्देशन दिएको छ।
त्यस्तै समितिले सवारी साधन चलाउन पनि पूर्ण रुपमा निषेध गर्ने निर्णय गरेको उपप्रधानमन्त्री एवं समितिका संयोजक पोखरेलले जानकारी दिए। अत्याआवश्यक सवारी साधान भने चल्न पाउनेछन्। एम्बुलेन्स, पानी, दूध औषधिका सवारी साधनलाई भने रोकिने छैन। 
समितिले गरेका निर्णयहरु यसप्रकार छन्ः
नेपालभर कोभिड–१९ को संक्रमण फैलने सम्भावना देखिएकोले नेपाल सरकारले संक्रामक रोग ऐन २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी  यसको रोकथाम र निर्मूल गर्न मिति २०७६ चैत ११ गते बिहान ६ बजे देखि २०७६ चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी देहाय बमोजिमको आदेश जारी गरेको छः
१. औषधि उपचार, खाद्य वस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक नै पनि व्यक्ति धरबाट बाहिर ननिस्कने
२. अनुमतिप्राप्त सवारी साधन स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्ने बाहेक सबै प्रकारका सार्वजनिक वा निजी यात्रुवाहका सवारी साधन संचालनमा पूर्ण रोक लगाउने
३. सुरक्षा निकायबाट प्रयोग हुने वायुयान र तोकिएका अन्य उडानहरू बाहेक अन्य सबै आन्तरिक व्यवसायिक उडानहरु बन्द गर्ने
४. स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दूरसञ्चार सूचना तथा संचार, भन्सार, क्वारेन्टाइन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवाबाहेक अन्य कार्यालय संचालनको लागि आवश्यक पर्ने कर्मचारी मात्र उपस्थित हुने व्यवस्था गरी अन्य कर्मचारीहरुलाई आवश्यक परेको बखत तत्काल उपस्थित हुने गरी सम्बन्धित कार्यालय प्रमुखले विदा दिने
५. औषधि तथा स्वास्थ्य उपकरण, खाद्यवस्तु, खानेपानी, दूध, इन्धन उत्पादन गर्ने उद्योगहरु बाहेक निजी क्षेत्रबाट संचालित अन्य उद्योग कलकारखानाहरुमा काम गर्ने श्रमिक, कर्मचारीहरुलाई सम्बन्धित उद्योगले विदा दिने व्यवस्था मिलाउने
६. व्यवसायीहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने। अभाव देखाई मूल्य वृद्धि गर्ने वा कालाबजारी, जम्माखोरी गर्ने वा लकाउने वा आपूर्तिमा अवरोध गर्ने व्यक्तिलाई प्रचलित कानुनबमोजिम नियन्त्रणमा लिने सामग्री जफत गरी रोगको रोकथाम र उपचारको कार्यमा उपयोग गर्ने।
७. संक्रामक रोग ऐन, २०२० को दफा २ को उपदफा २ बमोजिम जारी यस आदेशको कार्यान्वयन गर्नको लागि आवश्यक व्यवस्था मिलाउने ।
देश्सन्चारमा समाचार छ ।