तीन हप्तामा डेढ करोडभन्दा धेरै अमेरिकीले गुमाए रोजगारी

न्यूयोर्क (अमेरिका) । अमेरिकामा तीन हप्तामै डेढ करोड भन्दा धेरैले रोजगारी गुमाएका छन् । कोरोना भाइरस महामारीका कारण उद्योग व्यवसाय बन्द भएपछि विगत २१ दिनमा त्यहाँ १ करोड ६८ लाख मानिसले आफ्नो काम धन्दा गुमाएका हुन् । 
सरकारी तथ्यांकअनुसार अप्रिल ४ मा सकिएको हप्तामा ६६ लाख मानिसहरुले बेरोजगार भत्ताका लागि आवेदन दिएका छन् । यसअघि दुई साताको अवधिमा १ करोडभन्दा बढीले रोजगारी गुमाएका थिए । योसँगै बेरोजगारी भत्ता दाबी गर्नेको संख्या विगत ३ हप्तामा १ करोड ६८ लाख पुगेको हो । 
यो भनेको अहिले कार्यबलमा आबद्ध १० मध्ये एक अमेरिकी बराबर हो । छोटो समयमै यति धेरैले रोजगारी गुमाएको यो सन् १९४८ यताकै ठूलो र तीव्र हो । भाइरसको महामारीका कारण चालु त्रैमासमा एक तिहाइ आर्थिक गतिविधि गुमेको छ । 
रेष्टुराँ, होटल, डिपार्टमेन्ट स्टोर र साना व्यवसायहरुले तलब दिन नसकेपछि लाखौं कर्मचारीहरुलाई कामबाट निकालेका छन् । विज्ञहरुका  अनुसार आगामी दिनमा थप रोजगारी गुम्ने खतरा छ । 
अप्रिलमा बेरोजगारी दर १५ प्रतिशत पुग्ने बताइएको छ । यस्तो अवस्था विश्वव्यापी महामन्दीयता पहिलो पटक देखिँदै छ । अर्थतन्त्रलाई कोरोना भाइरसको प्रकोपबाट बचाउन अमेरिकाले व्यापक स्टिमुलस कार्यक्रम ल्याएको छ । रासस/ एपी