चार दिन पैदल हिँडेर सन्धिखर्क आएका मजदुरको वडाअध्यक्ष नारायण खड्काद्धारा उद्धार

प्रेमनारायण आचार्य
सन्धिखर्क, अर्घाखाँची । चार दिन पैदल हिँडेर सन्धिखर्क आइपुगेका  तीन मजदुरको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १२ का वडाअध्यक्ष नारायण खड्काले उद्धार गरेका छन्। 
देश लकडाउन भएर काम नपाएपछि म्याग्दीबाट पैदल हिँडेर आफ्नो घर दाङ्ग जान हिँडेका तीन मजदुर चार दिनको पैदलयात्रापछि गए राति सन्धिखर्कमा आएका हुन्। 
दाङको तुल्सीपुर उपमहानगरपालिका १८ विजौरी घर भएका मजदुर डेढ महिना अघि कामको सिलसिलामा म्याग्दीको बेनी पुगेका थिए।
‘बाटोबाटोमा प्रहरीले सोध्छ। कँहा जान किन हिँडेको भन्छ, हामी आफ्नो समस्या राख्छौँ उनीहरुले हिँड्न दिन्छन्’, एक मजदुरले भने, ‘धेरै दुःख सहेर यहाँसम्म आइपुग्यौँ।’ 
बेनीबाट रत्नेचौर, भीमपोखरा, घोडा बाध्नी, नयाँठाटी,  खरबाङ्ग, टक्सार, तम्घास हुँदै सन्धिखर्कमा आएर अलपत्र परेका तीन जनालाई  सन्धिखर्क १२ वडाका अध्यक्ष तथा तरुण दलका अध्यक्ष नारायण खड्काले आफ्नो घरमा राखेर खानपानको व्यवस्था गरेका हुन्। 
खड्काले शुक्रबार बिहान उनीहरुलाई बाटो खर्च दुई हजार रुपैयाँ दिएर सन्धिखर्कबाट बिदा गरेका छन्।  उनीहरुले तुलसीपुरको लागि सन्धिखर्कबाट पैदल यात्रा तय गरेका हुन्। 

अन्य समाचारहरु