काठमाडौँको पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टको ‘ए ब्लक’मा बस्नेहरुको र्यापिड डाइग्नेष्टिक टेष्ट आरपीडी गरिंदै छ ।
बेलायतबाट फर्केर अपार्टमेन्टको ए ब्लकमा बस्दै आएका एकै परिवारका ८१ वर्षिया आमा र ५८ वर्षिय छोरामा कोभिड–१९ पुष्टि भएपछि त्यहां बस्नेहरुको आरपीडी गरिन लागेको हो ।
प्रहरीले उक्त अपार्टमेन्टलाई सिल गरेको छ भने कोलोनीसमेत बन्द गरेको छ ।
चैत ५ गते बेलायतबाट दोहा हुंदै काठमाडौं आएका संक्रमित परिवारका तीन जनामा र्यापिड टेस्टका क्रममा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो ।
कागेश्वरी मनोहरा नगरपालिकाले सोमबार विदेशबाट आएकाहरुको खोजी गर्ने क्रममा परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएको हो ।
आमा र छोरामा संक्रमण देखिएपनि बुहारीमा भने कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संक्रमित परिवार प्रायः घरभित्रै बसेका थिए। तर, केही दिनअघि उनीहरु किनमेलमा बाहिर निस्केको र उनीहरु कहाँ काम गर्ने मानिस ओहोरदोहोर गरिरहेकाले सबैको परीक्षण गर्नुपर्ने स्थानीयको माग छ ।
सनसिटी अपार्टमेन्ट लक गरिएपछि दैनिक उपभोग्य वस्तु किनमेल गर्नका लागि वैकल्पिक प्रबन्ध गर्न अपार्टमेन्टमा बस्नेहरुले आग्रह गरेका छन् ।
पांच वटा ब्लक रहेको अपार्टमेन्टमा करिब पाँच सय परिवार बस्दै आएका छन् । प्रत्येक ब्लकमा १६–१६ तल्ला छन् भने एउटा तल्लामा ६ वटा परिवार बस्छन् ।
-इमेज